पशु प्रजनन् सम्बन्धी तालिम

Read Time = 3 mins

काठमाडौं । पशु चिकित्सकलाई दुई चरणमा दिने गरी गाईभैंसीको गर्भ परीक्षण तथा पशु प्रजनन् विकृति निवारणसम्बन्धी तालिम आयोजना भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ललितपुरको सहयोग तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको प्राविधिक सहयोगमा माघ ९ गतेदेखि सुरु भएको पहिलो चरणको तालिम बिहीबार सम्पन्न भएको छ भने दोस्रो चरणको माघ १४ सम्म सञ्चालन हुनेछ ।

६० पशु चिकित्सक सहभागी हुने अधिकृतस्तरीय तालिममा प्रादेशिक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल सरकारका पशु प्रजनन् फार्म, नेपाल प्रहरी केनाइन शाखा, नेपाली सेना तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसमेतको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट कृषकको गोठसम्म पुगेर सेवा दिन सक्ने ३७ अत्याधुनिक प्रविधियुक्त मेसिन वितरण गरिएका निकायका ६० पशु चिकित्सकको सहभागिता रहने तालिममा गाईभैंसीको गर्भ परीक्षण, बाँझोपन निवारणलगायत विषयमा ज्ञान वितरण हुने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिनुभयो ।

तामिल उद्घाटन कार्यक्रममा कृषि तथा पशु विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन प्राडा होमबहादुर बस्नेत, त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्ण काफ्ले, कृषि तथा वन विज्ञान विश्वविद्यालयका स्नातकोत्तर कार्यक्रम संयोजक नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक डा. उमेश दाहाललगायतको उपस्थिति रहेको थियो ।

उपकुलपति प्राडा रेग्मीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रादेशिक कृषि मन्त्रालय र विश्वविद्यालयबीच सहकार्य र समन्वय गर्न सके प्रविधि हस्तान्तरण प्रभावकारी र सहज हुने बताउनुभयो । विकसित राष्ट्रमा पशुमा अल्ट्रासाउण्ड मेसिन प्रयोग दशकौंदेखि भइरहेको र नेपालमा पनि यसको आवश्यकता बढेकाले तालिम आयोजना गरिएको आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत डा. प्रवेश शर्माले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?