क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

Read Time = 3 mins

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ देखि २९ सम्म हुने क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । काटमाडौंको भृकुटीमण्डपमा हुने २८औँ संस्करणको क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको क्यानले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससिटी) रहेका छन् ।

क्यान इन्फोटेकको इतिहासमै पहिलोपटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो । सो पत्रकार सम्मेलनमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योग चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको बताउनुभयो । प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र हृवावे रहेका छन् भने सिल्भर स्पोन्सरमा एसपावर, डिजिकम र अर्न सिक्का(अनलिमिटेड टेक्नोलोजी) रहेका छन् । मेलाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसुलगायतका संस्थाको सहकार्य रहेको छ ।

मेलामा ब्राण्डिङ, आइसिटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आइटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । साथै मेलाकै क्रममा हरेक दिन आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजकले जनाएको छ । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?