गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) सुनुवाइ हुँदैछ । यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा लामिछानेको तर्फबाट तीन जनाले बहस गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्ताहरू सुनील पोखरेल र सुशील पन्त र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गर्नुभएको थियो । यसअघि निवेदकको तर्फबाट अधिवक्ताहरू रविराज बसौला, रमन कर्ण, डा. सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगानाले बहस गर्नुभएको थियो ।

बुधबार पूरा नभएका कारण सुनुवाइ आजका लागि सारिएको हो ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उहाँलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हाल्नुभएको थियो ।

लामिछाने नेपाली नागरिक रहँदा अमेरिकाको नागरिकता लिनुभएको थियो । उहाँले अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस गर्नुभएको थिएन । अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि मन्त्री लामिछानेले नेपाली नागरिकता त्याग गर्नका लागि निवेदन दिनुभएको थिएन । अमेरिकाको नागरिकता प्राप्त गरेको कुरा गोप्य राखेको तथा अमेरिकाको नागरिकता त्याग गरेको भने पनि त्यसको निस्सा बुझाएको थिएन । यस्तो अवस्थाले गर्दा लामिछानेको नेपाली नागरिकता कायम नरहेको रिट निवेदनमा जिकिर गरिएको छ ।

निष्क्रिय भइसकेको पुरानो नेपाली नागरिकता राखेर लामिछानले निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्नुभएको थियो । त्यसपछि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको अवस्थामा पार्टी सभापति र सांसद पद खारेज गर्नुपर्ने रिट निवेदकहरूको तर्क छ । अधिवक्ता रविराज बसौला र युवराज पौडेललगायतले दायर गरेको सो रिटमा नेपाल नागरिकता ऐन, २०६३ को नागरिकता त्याग र प्राप्तिका विषयमा प्रश्न उठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?