बायर्न म्युनिखको अर्को बराबरी

Read Time = 3 mins

म्युनिख । जर्मन बुण्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले अर्को बराबरीको नतिजा निकालेको छ । बायर्न घरेलु मैदानमा फ्रान्कफुर्टसँग एक-एक गोलको बराबरीमा रोकिएको हो । १२ नोभेम्बरमा साल्केलाई दुई-शून्यले पराजित गरेयता बायर्नले मैत्रीपूर्ण खेलसहित पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । बायर्नले आरबी लाइप्जिग र कोल्नसँग समान एक-एक गोलको बराबरी खेलेको छ । एलिएन्ज एरिना म्युनिखमा शनिबार राती भएको खेलमा बायर्नका लिरोए सानेले गोल गर्दा फ्रान्कफुर्टका रान्दल कोलो मुएनीले गोल फर्काउनुभयो ।

३४औँ मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा एक–शून्यको अग्रता दिलाउनुभयो । ६९औँ मिनेटमा रान्दल कोलो मुएनीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै बायर्नले आफ्नो शीर्षतालाई मजबुत बनाउने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको १८ खेलबाट ३७ अंक छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको युनियन बर्लिनको ३६ अंक छ । फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौँ स्थानमा छ ।

यता, म्यानचेस्टर युनाइटेडले एफए कपको चौथो चरणमा च्याम्पियनसिप क्लब रिडिङलाई पराजित गरेको छ । युनाइटेडले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रिडिङलाई तीन-एकले पराजित गर्दै पाँचौँ चरणमा प्रवेश गरेको छ । युनाइटेडको जितमा क्यासमिरोले दुई तथा फ्रेडले एक गोल गर्नुभयो । रिडिङका एमाडोउ सलिफ मवेंगेले एक गोल फर्काउनुभयो ।

५४औँ मिनेटमा क्यासमिरोले गोल गर्दै युनाइटेडलाई एक-शून्यको अग्रता दिलाउनुभयो । त्यसको चार मिनेटपछि नै क्यासमिरोले फ्रेडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । ६६औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई तीन-शून्यले अघि बढाउनुभयो । ७२औँ मिनेटमा एमाडोउ सलिफ मवेंगेले गोल गर्दै खेललाई तीन-एकको स्थितिमा ल्याउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?