प्रधानमन्त्री ‘प्रचण्ड’ र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ ।

मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराउनुभएकाे थियाे ।

उहाँले नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताउनुभयाे । यसको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएकाे छ ।

लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै उहाँलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आउनु भएका ओली बुधबार बिहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुग्नुभएकाे हाे । ओलीसँगै राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुग्नुभएकाे छ ।

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच समसामयिक राजनीतिकसहितका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो ।

साथै उहाँहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?