करार कर्मचारीको म्याद थप गर्ने विषयमा विवाद बढ्दा अनिश्चितकालका लागि अस्पताल बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको तालाबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ ।

नगरपालिकामा रहेको एउटामात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् । नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सोमबार सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिनुभयाे ।

आन्दोलनरत करारका कर्मचारीले स्वास्थ्य शाखाको निर्णय विरुद्ध ओपीडि संचालनमा पनि रोक लगाएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई निकाल्न भएको षडयन्त्रको विरोधमा ओपिडी सेवा पनि बन्द गर्नुपरेको बताएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीसमेत गरी कुल २८ जना कार्यरत अस्पतालबाट नगरपालिकाले ३ जनाको मात्रै करार अवधि थप गर्ने निर्णय गत असोजमा नै गरेको थियो ।

कर्मचारीहरु काममा आउन नछोडेपछि अस्पताल नै बन्द गरेर कर्मचारीहरुलाई निकाल्न खोजिएको करार सेवाका अहेब अयुब अन्सारीले बताउनुभयाे । उहाँका अनुसार करारका अधिकांश कर्मचारीहरु कार्यरत इमरजेन्सी सेवा बन्द गरेर नगरपालिकाले जागिरबाट हटाउने जाल रचेको हो । आन्दोलनरत कर्मचारीहरुले सोमवार साझँबाट ओपीडी (बहिरंग) सेवा पनि बन्द गराएपछि नगरअस्पतालको सेवा पूर्णरुपमा ठप्प बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?