‘मौलिकताभन्दा बाहिर जान मनले मान्दैन’

Read Time = 7 mins

गोपीकृष्ण चापागाईं/हिटा
काठमाडौं । यस वर्षको हरितालिका तीजका लागि भन्दै ‘जान्न बाबा जान्न’ बोलको गीत सार्वजनिक गर्नुभएकी गायिका चन्दा अर्यालले आफूलाई तीजका गीतमा मौलिकताभन्दा बाहिर जान मन नलाग्ने बताउनुभएको छ । तीज भन्नेबित्तिकै मौलिकता जोडिएको हुने भएकाले चन्दा तीज गीतमा मौलिकपन झल्किनै पर्ने तर्क राख्नुहुन्छ ।

‘अरूले कस्तो गीत निकाल्नुभयो भन्दा पनि मैले तीज गीत गर्दा मौलिकतालाई ध्यान दिने गरेकी छु । विशेष गरी तीज गीत घरपरिवार बसेर दिदीबहिनी इष्टमित्रले सुन्ने, हेर्ने हो । त्यसैले परिवारसँग बसेर हेर्न मिल्ने हामीले बनाइदिनुपर्छ,’ गायिका चन्दाले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘अब यही गीतबाट पैसा कमाउँ भनेर त्यही नियत बनाएर कसरी भ्युज आउँछ भनेर लागियो भने मौलिकता बिर्सन सक्छ । त्यसैले केही व्यावसायिक पनि होस् तर मौलिकता हराउनु भएन ।’

गायिका चन्दाले अहिलेको गीतमा माइती र चेलीको वेदनालाई समेट्नुभएको छ । विशेष गरी बिहे गरेर गएकी चेलीले माइत आएर आफ्ना बुबासँग राखेको वेदना गीतमा सुन्न सकिन्छ ।

मेरो साथीसंगीको त शहरमा भो बिहे ।
मलाई भने हाम्रा बाले चिहान डाँडामा दिए ।
जन्मिएकी ठाउँमा, दुःखसुख गर्न मन छ जन्मिएकै ठाउँमा ।
जान्न बाबा जान्न म त जुका लाग्ने गाउँमा ।।
गीतमा चेलीले माइतीलाई सुनाएको पहिलो लाइन हो यो । गीतमा चन्दासँगै प्रकाश कटुवालको स्वर रहेको छ भने शब्द विनोद ढकालले लेख्नुभएको छ । संगीत दिने काम गायक प्रकाश कटुवालले नै गर्नुभएको छ । एरेन्ज राकेश सोनीको छ । भिडियोमा वरिष्ठ कलाकार रवि गिरी बुबाको भूमिकामा हुनुहुन्छ भने छोरीको भूमिकामा सरिता ढुंगाना ‘जुनकिरी’ हुनुहुन्छ । यस्तै भिडियोमा मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खेम बिए, विष्णु विसीको अभिनय देख्न सकिन्छ ।

दीपेन्द्र तिमल्सिनाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीको टिमले खिचेको हो भने मनोज कार्कीले सम्पादन गर्नुभएको हो ।
गाउँको पनि हेरेँ केटो शहरको पनि हेरेँ ।
तिम्रो भागमा जे लेखेको त्यही हुनि हो केरे ।।
फेरियो नि थर, बिहे पनि अर्कै गोत्र अर्कै भयो थर ।
माइती घर बस्न हुन्न जाऊ है कर्म गर ।।
छोरीलाई बुबाले भनेको लाइन हो यो । आफ्नी छोरीलाई बिहे गरिसकेपछि घरमै बस्नुपर्छ र माइती बस्न हुन्न भन्दै छोरीलाई भिडियोमा रवि गिरीले सम्झाइरहनुभएको देखिन्छ । एक साताअघि सार्वजनिक गीतको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायिका चन्दाले बताउनुभएको छ । गीतको भिडियोमा आएका प्रतिक्रियासँगै सहकर्मीहरूको प्रतिक्रियाले आफू खुसी भएको उहाँले बताउनुभयो । ‘युट्युबमा पनि कुनै बुस्ट नै नगरी आजको दिनसम्म झण्डै ८ लाख पटक हेरिएको छ । त्यो निकै राम्रो हो जस्तो लाग्छ । झण्डै हजार प्रतिक्रियामा सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ चन्दाले भन्नुभयो, ‘गीतको अडियोअनुसार भिडियो राम्रो भएको भन्ने प्रतिक्रिया पनि पाइरहेकी छु । खुसी लागेको छ ।’

भिडियोमा छोरीको भूमिका निभाउनुभएकी सरिता ढुंगानाले पनि मौलिकता बोकेको तीज गीतमा अभिनय गर्न पाउँदाको खुसी साट्नुभयो । उहाँले भन्नुभयो, ‘भिडियोका लागि अफर त आइरहन्छन् तर यो किसिमको भिडियोमा काम गर्दा आफैंलाई मनमा आनन्द आउँछ । तीजको मौलिकता झल्किएको छ । एउटा कलाकारले संस्कृति जोगाउन गर्न सक्ने यस्तै काम हो जस्तो लाग्छ ।’

विसं २०६५ सालबाट औपचारिकरूपमा गीत गाउन थाल्नुभएकी गायिका चन्दाले अहिलेसम्म २० वटा एल्बम र ३० बढी गीतमा स्वर दिइसक्नुभएको छ । लोक तथा दोहोरी गीत ‘स्याउ लेईदिउँ कि केरा’ । ‘खान्न मत पिडालु कोक्कायो’ गीत अत्यधिक हिट भएका गीत हुन् । चन्दाका अन्य ‘करिमैको दोष, रोधीमा झरौँला’ लगायतका गीत पनि लोकप्रिय छन् ।

यस्तै गायिका चन्दाले विगत ९ वर्षदेखि प्रत्येक वर्ष तीज गीत सार्वजनिक गर्दै आउनुभएको छ । यस वर्षको हरितालिका तीज आगामी भदौ १४ गते रहेको छ । उक्त दिन महिलाहरूले पानी पनि नखाई व्रत बस्ने चलन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?