गिद्ध संरक्षणमा सामुदायिक अभियान

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । गिद्ध संरक्षण अभियान शुरु हुँदा धेरैले गिद्ध पनि संरक्षण गर्ने भनेर उल्टै उडाए तर ती उडाउनेहरु पनि अहिले संरक्षण अभियानमा संलग्न छन् । दाङमा राप्ती गाउँपालिका वडा नं. २ लामटियामा २०६५ सालबाट शुरु भएको गिद्ध संरक्षण अभियान अहिले पनि निरन्तर चलिरहेको छ । गिद्धको बासस्थान नासिदै जाँदा र आहाराको अभाव हुँदा गिद्ध लोप हुन थालेको अवस्थामा यहाँ संरक्षण थालिएको थियो ।

पशु बृद्धाश्रम तथा जटायु रेष्टुरेन्ट नाम दिएर संरक्षण अभियान अघि बढेको थियो । पशु बृद्धाश्रममा ७० वटा गाई गोरु छन् । गाई गोरु मरेपछि गिद्धको आहारका रुपमा प्रयोग गरिदै आएको छ । जसको संरक्षण कालिका सामुदायिक वन उपभोक्ता समितिले गर्दै आएको छ ।

बुधबार गिद्धको आहारा स्थलमा सरसफाइ पनि गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको सक्रियतामा गिद्ध संरक्षण क्षेत्रमा सरसफाइ गरिएको हो । उक्त क्षेत्रमा सिमलका रुख छन् । जहाँ गिद्धलाई आहारा दिदै आइएको छ । गिद्धलाई आहार दिने स्थानमा झाडी भएको र उक्त झाडीका कारण गिद्धलाई भुइँमा बस्न समस्या हुँदै आएको थियो ।

‘वातावरणलाई सन्तुलन राख्न गिद्ध चाहिन्छ । यसका लागि गिद्धको बासस्थानको संरक्षण र आहारा स्थलको सरसफाइ गरेका हौं’– अध्यक्ष बिष्टले भन्नुभयो– ‘प्रकृतिको कुचिकार गिद्ध लोप हुँदै जाँदा वातावरणमा समेत असन्तुलन हुन सक्छ । त्यसैले गिद्धलाई संरक्षण गर्ने अभियानमा निरन्तर लागिरहनुपर्नेछ ।’ गिद्ध संरक्षण केन्द्रलाई प्रदेशको अध्ययन अवलोकन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सभामुख तुलाराम घर्तीले पशुपालन घट्दै जाँदा गिद्धको आहारामा पनि कमी आएकाले लोप हुन थालेको बताउनुभयो । ‘शुरुका दिनमा गिद्ध संरक्षण गर्ने कुरा ठीक होइन जस्तो आम बुझाइ थियो तर पंक्षी वैज्ञानिक अध्ययन अनुसन्धानले गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा पुष्टि गरेपछि यसतर्फ समुदायको पनि चासो बढ्यो’– सभामुख घर्तीले भन्नुभयो– ‘अब त गिद्ध संरक्षण अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको चासो रहन गएको छ ।’ कालिका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित उपभोक्ताहरुको समूहले सरसफाइ गरेको हो ।

विश्वमा २३ प्रजातिका गिद्ध छन् । नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छन् । ती गिद्धहरूमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति संकटापन्न, सेतो गिद्ध संकटापन्न, हिमाली र हाडफोर गिद्ध संकटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् । हाल पशु बृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रमा नेपालमा पाइने सबै प्रजातिका अर्थात नौ प्रजातिका गिद्ध पाइएका छन् ।

गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रुखमा बस्न रुचाउँछ तर राप्तीका सडक किनाराका रुख कटानसँगै सिमलका रुख पनि कटान हुँदा कतै गिद्धको बासस्थानमा असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ । गिद्धलाई प्राकृतिक कुचिकारको रुपमा हेरिन्छ । सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिएको हो तर पछिल्लो समय यसको बासस्थान अभावका कारण लोप हुने अवस्थामा पुगेको छ । वातावरण प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन गिद्धको भूमिका अहम् छ ।

गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, बरुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?