जनस्वास्थ्यकर्मीको अनुभवः बाँकेमा किन फैलियो दादुरा ? नियन्त्रण र रोकथाममा के गरियो ?

हिमालय टाइम्स
Read Time = 24 mins

-नरेशबाबु श्रेष्ठ

काठमाडौं । दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।

दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन।

चिन्ह लक्षणहरू

दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ। ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ।

रोगीसँग सम्पर्कमा आएको १४ दिनपछि (औसत ४–२१ दिन) शरीरमा बिमिराहरू देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।

गम्भिर जटिलताहरू ५ वर्ष भन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरूमा देखिन्छ। अन्धोपन, इन्सेफलाईटिस, पखाला, कानको संक्रमण गम्भिर श्वासप्रश्वासको संक्रमण दादुराका गम्भिर जटिलताहरूमा पर्दछन्।

दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको बिशेष उपचार छैन। यो अवस्थामा विरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ, ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्तालागेको पहिलो र दोस्रो दिन गरि २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्दछ। त्यसैकारण बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिका संगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, ब्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। तोकिएको उमेर, बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १।१ मात्रा गरि २ मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरूमा समेत ५ बर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ।

दादुराको खोप १ मात्राको प्रभावकारिता ८५ प्रतिशत र दोस्रो मात्रासमेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ प्रतिशत हुने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेका छन। दादुरा, रुवेला र congenital रुवेला syndrome बाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ। यो जिवित कमजोर भाइरसबाट बनाइएको हुन्छ। यो खोप ०.५ एमएल छाला र मासुको बीचमा दिइन्छ। कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिन भित्र र कोभिड–१९ खोप लिएको १४ दिन पछि सम्म दादुरा–रुबेला बिरुद्धको खोप दिइँदैन।

नियमित खोपमा २३ महिना मुनिका बालबालिकाहरूमा दादुरा–रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ। यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा यो हुन सक्छ।

खोप दिन नहुने अवस्था

पहिले दादुरा–रुबेला बिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको रियाक्सन भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै सिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिईदैन तथा एच.आई.भि. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ।

दादुरा–रुबेला विरुद्धको खोपको प्रभावकारिता

रोगलाई रोकथामका लागी खोपको बिकास भएका रोगहरू मध्य पर्ने हुनाले दादुरा खोपबाट रोकथाम गर्न सकिने रोग अन्तरगत पर्दछ। दादुरा रोग रोकथामका लागी बालबालिकाको पोषण स्थितिमा सुधार गर्नु, रोगि व्यक्तीको सम्पर्कमा नआउनु, भिटामिन ए क्याप्सुल बर्षमा २ पटक खुवाउनु पनि महत्वपूर्ण कुराहरू हुन तर यस रोगलाई रोकथामका लागी प्रभाबकारी खोपको विकास भईसकेकोले खोप यसको सबै भन्दा महत्वपूर्ण र अति प्रभाबकारी रोकथामको साधन हो। यसको खोप बच्चाको उमेर ९ महिना र १५ महिना हुँदा लगाईन्छ। पहिलो मात्राको प्रभाबकारीता वा सुरक्षा दर ८५ प्रतिशत वा १०० जना बालबालिकाहरूलाई खोप लगाएमा ८५ जना बालिका सुरक्षित हुन्छन। त्यस्तै १५ महिनाको उमेरमा दोस्रो मात्रा खोप लगाएमा ९५–९७ प्रतिशत खोप लगाएका बालबालिकाहरू दादुरा हुनबाट सुरक्षित हुन्छन। यसरी पहिलो खोप लगाएता पनि १५ प्रतिशत र दोस्रो मात्राको लगाएता पनि ३–५ प्रतिशत खोप लगाएका बालबालिकाहरूमा समेत दादुरा हुने सम्भावना हुन्छ, त्यस्तै १५ प्रतिशत जति खोप नलगाएका बालबालिकाहरू गरि यस प्रकारको कोहर्ट प्रत्येक बर्ष बढदै जाने हुनाले प्रत्येक ४–५ बर्षको फरकमा दादुराको महामारी देखिने गर्दछ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दादुरा निवारण प्रोटोकल अनुसार कुनै समुदायमा २८ दिन भित्र ५ वा ५ जना भन्दा बढि बिरामी देखा परेमा दादुरा महामारी भनिन्छ। त्यस्तै ५ वटा शंकास्पद विरामीको शंकास्पद रगत सिरम जाँच गर्दा २ जना बिरामीको नमुना जाँच मा दादुरा पोजेटिभ आएमा त्यो समुदाय वा त्यो समुदाय आसपासको क्षेत्रमा दादुराका चिन्हलक्षणहरू देखापरेमा स्वतः तिनिहरूलाई दादुराको बिरामीको रुपमा लिईन्छ।

दादुरा नियन्त्रण

दादुराको महामारी पछि दादुरा नियन्त्रण भन्नाले दादुराको अन्तिम बिरामी देखिए देखि दादुराको सबै भन्दा लामो सराई अवधी २१ देखि २३ दिनको ठिक दोब्बर अवधि सम्म कुनै नयाँ बिरामी देखा परेन भने त्यो महामारी फैलिएको क्षेत्रमा दादुरा नियन्त्रणमा आएको मानिन्छ।

दादुरा निवारण

कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ बर्ष सम्म बिरामी देखा नपरेको वा जिरो भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।

पूर्णखोप र दादुरा महामारी

पूर्णखोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाइ सम्झनुपर्दछ। हाल पूर्णखोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ। नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सवै बालबालिकाहरूले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूर्णखोपको अवधारणा शुरु गरेकोे हो। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार २१ प्रतिशत बालबालिकाहरूले पूर्णखोप प्राप्त नगरेको र १ प्रतिशत बालबालिकाहरूले कुनै पनि खोप सेवा प्राप्त नगरेका (खोप शुन्य अवस्था) पाईएको र ल्म्ज्क् २०२२ अनुसार २० प्रतिशत बालबालिकाहरूले पूर्णखोप प्राप्त नगरेको र ४ प्रतिशत बालबालिकाहरूले कुनै पनि खोप सेवा प्राप्त नगरेका ९खोप शुन्य अवस्था० पाईएको तथा सन् २०१६ को तुलनामा शुन्य खोपको अवस्था १ प्रतिशत बाट बढेर ४ प्रतिशतमा रहेको देखिएको छ। नियमित खोप सेवाबाट बिभिन्न प्रयास गर्दा गर्दै पनि पूर्णखोप प्राप्त गर्ने बच्चाको दर घट्दै गएको , विशेष गरि बसाई सराइ गर्ने, घुमन्ते फिरन्ते समुदाय, सुकुमबासी वस्ती, गरिव, अशिक्षित आमाहरूका बच्चाहरूमा खोपको उपभोग दर कम रहेको देखिनुको साथै घना वस्ती भएका शहरी क्षेत्र तथा तराईमा खोप उपभोग दरमा कमी देखिएको छ।

पूर्ण खोप सुनिश्चिता कार्यक्रम २०६९ साल बाट सुरु भएको र २०७८।०७९ को आषाड मसान्त सम्म नेपालका ७० जिल्लाहरू पूर्ण खोप जिल्ला घोषणा भैसकेको र बाँके जिल्लालाई २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। जिल्ला पूर्ण खोप घोषणा भएको २१ महिना पछि दादुराको महामारी देखिएपछि पूर्ण खोप घोषणासँग सम्वन्धित प्रश्नहरू उब्जनु स्वभाविक हो। तर पछि हामीले पूर्णखोप घोषणा भएको २ बर्ष पनि नभएको र सो घोषणा पश्चातको समयमा पूर्ण खोप भएर सुरक्षित हुने बालबालिका समुह ३ बर्ष ९ महिना वा ४ बर्ष मुनिका बालबालिकाहरू पर्ने र अब हामी ६ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकालाई थप एक मात्रा दादुरा रुबेलाको खोप दिने अभियान संचालन गर्ने कार्यले माघको १८ गते सम्म हामीले ७ स्थानिय तहका लक्षित जनसंख्या १,५४,१३५ जनामा १,४१,५४३ जना ९९१।८५० प्रतिशतलाई दादुरा रुबेला बिरुद्धको खोप दिई ति बालबालिकालाई यो महामारी खोप लगाउने अबसरका रुपमा लिई आगामी दिनका लागी दादुरा रुबेला बाट सुरक्षित गर्नु पनि ठुलो उपलब्धीका रुपमा लिएका छौ।

दादुरा महामारी पछिको प्रतिकार्य खोप

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरूमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागि कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ। सो निर्देशिका अनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्ला वा बस्तीहरूमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान सञ्चालन गरिन्छ। सामान्यतया यो बिशेष थप खोप अभियान सञ्चालन गर्दा लक्षित समूह निर्धारण गरिन्छ। जसमाः यदि महामारीको समयमा बिरामीहरू ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरूलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोप थप १ मात्रा दिईन्छ भने यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरूमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरूलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोपको थप १ मात्रा दिईन्छ

बाँकेमा दादुरा आउटब्रेक

सन २०२३ सालको अन्तसम्ममा नेपाल सरकारले दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को सुरुआत अर्थात २०२३ सुरुआत अर्थात २०२२ डिसम्बरको २७ तारिख अर्थात पौषको १२ गते सर्ब प्रथम बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाको वडा नं. ७ ड.एस.पि. रोडको एकै परिवारका ५ बच्चाहरूमा दादुराको बिरामी देखा पर्यो। ति बालबालिकाको रगत सिरम जाँच पश्चात राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंले ४ जना बिरामीहरूमा दादुरा रहेको पुष्टी भयो।

२०७९ माघको १८ गते सम्ममा नेपालगंजका १९ वडा २१३ जना, खजुराका ४ वटा वडामा २१ जना, कोहलपुर नगरपालिकाका ५ वटा वडामा ९ जना, नरैनापुर गाउँपालिकाका ३ वटा वडामा ४१ जना, डुडुवा गाउँपालिकाको १ वडामा १८ जना, राप्तीसोनारीको ३ वटा वडामा ७ जना गरि बाँके जिल्लाका ६ स्थानिय तह ३५ वटा वडामा ३०९ जना बिरामीहरू देखा परेका छन, जसमा २९८ जना बिरामी निको भईसकेका छन्। यसबीचमा १ जना ३१ महिने बालकको मृत्यु भएको छ भने १० जना बिरामीहरू सामान्य रुपमा घरमै आईसोलेसनमा रहि उपचारमा हुनु हुन्छ। दादुरा रोग नियन्त्रणका महामारी प्रतिकार्य खोप अभियान पौष २२ गते देखि यता बाँके जिल्लाका दादुरा प्रकोप भएका नेपालगञ्ज, खजुरा, नरैनापुर, डुडुवा स्थानिय तहमा शुरु गरि ति ७ स्थानिय तहका १,५४,१३५ जना बालबालिकाहरूलाई दादुरा–रुबेला खोप दिने लक्ष लिएकोमा माघ १८ गते सम्म १,४१,५४३ जना ९१.८५ प्रतिशत बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लिएको स्वास्थ्य कार्यालय, बाँकेको तथ्याङ्कले देखाउँछ।

रोगको नियन्त्रण तथा महामारी प्रतिकार्य खोप अभियानका चुनौतीः–

१. सामाजिक सांस्कृति अवस्थाले गर्दा केही समुदायका केही परिवारले अझै पनि खोप लिन नमान्ने अवस्था।

२. नेपालको सिमावर्र्ती भारत र सो सिमामा भएको नेपाली समुदायमा भारतमा सुत्केरी हुने र लामो समय भारतमैै बस्ने वा केही खोप नेपालमा लिने र फेरी भारतमा आफ्नो माइत गएको अवस्थामा खोपहरू छुट हुने अवस्थाले नियमित खोप पूर्ण हुनमा समस्या।

३. खोपको आवश्यकता र पहुँच र यसको आवश्यकता बारे ज्ञान तथा जनचेतनाको अभाव (बिशेष गरि शिक्षाको स्तर निम्न भएको र चेतनाको स्तर कमजोर भएको बस्तीहरूमा)

दादुरा रोगको प्रकोप नियन्त्रण तथा महामारी प्रतिकार्यः–

१. स्थानीय तह तथा वडाहरूमा सर्भिलेन्स साईट बिस्तार गरि खोपजन्यरोगहरूलाई उच्च निगरानिमा राखि रोग समयमै पत्ता लगाई नियन्त्रण गरि महामारी फैलिन नदिने।

२. पालिका तथा वडा स्तरिय सुक्ष्म योजना तयारी तथा अपडेट गरि नियमित खोप सुदृढिकरण गरेर तोकिएको समय बच्चाको उमेर २३ महिना सम्म नै उसले पाउने १३ वटा रोग बिरुद्धको खोप पुरा गर्ने

३० खोपको उपभोग दर कम भएका वडा तथा बस्तिहरूमा खोपको पहुँचलाई बढाउनका लागी वडा तथा पालिका तहको खोप समन्वय समिति र धार्मिक गुरु तथा मदरासा र बिद्यालय शिक्षकहरू समेतको सहभागीतामा खोपको महत्व, सेवा प्रदान र पहुँच बृद्धिका विषयमा छलफल गर्ने तथा समुदाय परिचालन गरि शत प्रतिशत बालबालिकाहरूलाई लगाउनुपर्ने १३ प्रकारका खोपहरू पूर्ण मात्रामा लगाउने।

४. स्थानीय तहहरूमा खोपजन्य रोगको महामारी र खोपजन्य रोगको ब्यवस्थापनका लागी स्थानिय तह तथा जिल्ला तहहरूमा आबश्यक बजेट तथा कार्यक्रमको ब्यवस्था गरि गुणस्तरिय खोप सेवा निरन्तर प्रदान गर्ने।

५. खोप सेवा आधारभुत अत्याबशेकीय सेवा भएकाले स्थानीय सरकारको अपन्नत्वमा स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंमसेविका, सामुदायिक परिचालकहरू र विकास साझेदार र सबै सरोकारवाला सँगको समन्वय र सहकार्य र सहकार्यमा खोपको उपभोग दर कुनैपनि बालबालिकाहरूलाई नछुटाई ९५ प्रतिशत प्रतिशत भन्दा माथि पुर्याउने।

६. स्थानिय भाषाहरूमा खोपको महत्व सम्वन्धी सुचा तथा सन्देशहरू स्थानिय एफ।एम। तथा पत्रिकाहरू मार्फत प्रकाशन तथा प्रसारण गर्ने साथै बिद्यालयहरूमा खोपको महत्व सम्वन्धी बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने।

७. खोपको महत्व, उपयोगिता र उपलब्धता र यस क्षेत्रमा लगानीको आवश्यकताको बारेमा स्थानिय निकायका जनप्रतिनिधिहरू, धर्मगुरुहरू, स्वास्थकर्मी, म।स्वा।स्व।सेविका, आमा समुह, विद्यालय स्वास्थ्य शिक्षकहरूलाई नियमित रुपमा अभिमुखिकरण तथा नयाँ कुराहरू अपडेट गरि खोप प्रतिको चेतनाको स्तर अभिबृद्धि गर्ने।

८. खोपको गुणस्तरियता कायम गर्नका लागी जिल्ला देखि स्थानिय तह र स्थानिय तह देखि खोप केन्द्र र खोप लगाउने बालबालिकाको शरिर सम्म पुग्दा सम्म तापक्रमको ब्यवस्थापन र सुर्यको प्रकाश बाट जोगाई (कोल्डचेन ब्यवस्थापन) बालबालिकाहरूलाई प्रतिरक्षा प्रणाली बिकास गर्ने गुणस्तरिय खोप मात्र प्रदान गर्ने।

नेपाल जनसांङख्कि स्वास्थ्य सर्भेक्षण २०२२ ले २०१६ को भन्दा ३ प्रतिशत बढि वा ४ प्रतिशत बालबालिकाहरूले कुनै खोप नलगाएको र १६ प्रतिशतले पूर्ण खोप नपाएको तथ्याङ्क भरखरै मात्र सार्बजनिक गरेको छ, अहिलेको मुख्य चुनौति भनेकै यि खोप नै नपाएका ४ प्रतिशत र खोप लगाउन सुरु गरेका तर पुरैमात्रामा खोप लिन छुट भएका बाँकी १६ प्रतिशत बालबालिकाहरूलाई खोप सेवामा ल्याई सबै बालबालिकाहरूलाई खोपजन्य रोग लाग्न बाट सुरक्षित गर्नु हो, यसका लागी राष्ट्रिय स्वास्थ्य निति, मापदण्ड भित्र रहेर साधन स्रोतको बिनियोजन, परिचालन गरि स्वास्थ्यकर्मीहरूबाट आफनो कार्य क्षेत्र भित्रका ५ बर्ष मुनिका कुनै पनि बालबालिकालाई नछुटाई पाउनुपर्ने सबै खोप अनिबार्य रुपमा दिईनु अत्यावश्यक छ।

लेखक जनस्वास्थ्यकर्मी नरेशबाबु श्रेष्ठ स्वास्थ्य कार्यालय, बाँकेका खोप कार्यक्रम फोकल पर्सन हुनुहुन्छ।

 

श्रोत : आइएनएस=स्वतन्त्र समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?