‘ए’ डिभिजन लिगमा १८२ खेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १८२ खेल हुने भएका छन् । पहिलोपल्ट डबल राउण्ड रोबिनमा हुन लागेको लिगमा १८२ खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिना सुरु हुने प्रतियोगिताको तयारी तीव्रगतिमा अघि बढाइएको जनाएको छ ।

ती खेलहरू तीन मैदानमा हुनेछन् । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा खेलहरू हुनेछन् । एन्फाका महासचिव किरण राईले लिगको एकमहिने काउण्ट डाउन सुरु भइसकेको समेत जानकारी दिनुभयो । लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । तीन महिना चल्ने लिगमा पहिलोपल्ट १४ टोलीले एकअर्कासँग दुईपल्ट खेल्न लागेका हुन् ।

एन्फाका लिग निर्देशक सञ्जीव मिश्रका अनुसार क्लबसँगको छलफलपछि सुरुवाती पाँच राउण्डको खेल तालिका केही दिनमा सार्वजनिक गरिनेछ । अहिले मोफसलका प्रतियोगिता चलिरहेकाले खेल तालिका नबनाइएको उहाँले बताउनुभयो । लिगका लागि १४ वटै क्लबले नाम दर्ता गरिसकेको उहाँले बताउनुभयो । सहभागी १४ क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख रुपैयाँ लिइसकेको बताइएको छ ।

एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डबाट एक टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले यसअघि नै जनाइसकेको छ ।

लिगको सर्वाेत्कृष्ट खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेताले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम २५–२५ हजार बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेण्डर आहृवान गरिसकिएको र सो टेण्डरहरू यही माघ २३ गते खुला गरिने एन्फा महासचिव राईले बताउनुभयो । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?