ओखलढुंगामा मुख्यमन्त्री कप पुरुष फुटबल प्रतियोगिता आरम्भ

हिमालय टाइम्स
Read Time = 5 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष फुटबल प्रतियोगिता ओखलढुंगामा सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगा सदरमुकामस्थित खेलमैदानमा सोमबारबाट प्रतियोगिता सुरु भएको हो । ४ गतेबाट सुरु गरिएको प्रतियोगिता असार ९ गतेसम्म चल्नेछ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिने आयोजक टिमले जनाएका थिए । मौसमको कारण देखाउदै उद्घाटन कार्यक्रममा मन्त्री लिम्बू उपस्थित हुनुभएन । मन्त्रीलाई स्वागत गर्न खेलमैदानमा उपस्थित भएका स्थानीयवासी मन्त्री नआएपछि त्यत्तिकै फर्केका थिए । लामो समयसम्म तातो घाममा मन्त्रीको स्वागत गर्न बसेका स्थानीयवासीले मन्त्रीको स्वागत गर्न नपाएपछि मन्त्री आउने भनेर आयोजकले छल गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा मन्त्री लिम्बू उपस्थित नभएपछि कोशी प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव हंशराज वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनाल, गाउँपालिकाका प्रमुखहरू जिल्लास्थित कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुनुवारले कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिपक्ष सांसदहरूलाई जानकारी नभएकाले बजेट कार्यान्वयन नहुने बताउनुभयो । कोशी प्रदेशमा छिट्टै गठबन्धनको सरकार बन्ने र त्यो सरकारले पूरक बजेट ल्याउने बताउनुभयो । साथै उहाँले सदरमुकामस्थित भएको खेलमैदानलाई स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै प्रत्येक स्थानीय तहमा खेलमैदान निर्माण गर्न पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सदस्य-सचिव वाग्लेले ओखलढुंगाजस्तो पहाडी जिल्लामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सफल भएकोमा आफू धेरै खुसी भएको बताउनुभएको थियो । उहाँले पहिलोपटक ओखलढुंगामा मुख्यमन्त्री कप फुटबल गराउन सफल भएकाले फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सबै जिल्लावासी एवं सरोकारवाला निकायहरूले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

सोमबार भएको उद्घाटन खेलमा चार जिल्लाका चार टिमको खेल सम्पन्न भएको थियो । बिहान सोलुखुम्बु र ओखलढुंगाबीचमा प्रतिस्पर्धा भएको थियो भने दिउँसो उदयपुर र मोरङबीच प्रतिस्पर्धा भएको थियो । बिहान भएको प्रतिस्पर्धामा ओखलढुंगाले एकका विरुद्ध तीन गोलअन्तरले सोलुले जितेको थियो । ओखलढुंगाका जर्सी नम्बर ११ का खेलाडी सञ्जय गुरुङले खेल सुरु भएको ३६औँ मिनेटमा गोल गर्दै सुरुवाती खाता खोल्नुभएको थियो । यसैगरी जर्सी नम्बर ९ का खेलाडी प्रवीन मगरले ३८औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाउनुभएको थियो । खेलको ५६औँ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी सञ्जय गुरुङले जिल्लाका लागि तेस्रो र खेलमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गर्नुभएको थियो ।

खेलको ४९औँ मिनेटमा सोलुखुम्बुका जर्सी नम्बर ६ का खेलाडी थिरराज राईले आफ्नो जिल्लाका लागि गोल गर्दै गोल अन्तर घटाउनुभएको थियो ।

दिउँसो सम्पन्न भएको दोस्रो खेलमा उदयपुरले मोरङलाई एक-शून्य अन्तरले जितेको छ । उदयपुरका जर्सी नम्बर १३ का खेलाडी सुनिल खड्काले खेल सकिनै लाग्दा ८८ आँै मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै आफ्नो टिमलाई जित दिलाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?