देशभर चिसो बढ्यो, मारमा विपन्न

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । प्रकृति जति सुन्दर र अनुपम छ त्यति नै क्रूर र विनाशक पनि । प्राकृतिक सुन्दरता जति सुन्दर हुन्छ विपत्ति त्यति नै भयानक हुन्छ । कारण अनेक होलान् तर हरेक विपत्तिको सिकार मानव जाति नै बढी बन्छन् । अझै नेपालमा त विपत्तिले बाह्रैमास दुःख दिइरहन्छ । चैत–वैशाखमा खडेरी, बर्खामा बाढीपहिरो र चिसोमा कठ्याङ्ग्रिने जाडो । हरेक मौसमको मारमा पर्छन् आमनेपाली । यसले अझै हुँदा खाने र गरिबीको रेखामुनि रहेकालाई बढी पीडा र प्रचाडित गर्छ । खडेरीको मारमा किसान पर्छन् । तराईंमा चल्ने लूले पनि कतिपय मान्छेको ज्यान लिन्छ । बर्खाको बाढीले कसैलाई बाँकी राख्दैन । पहाडमा पहिरो र तराईंमा डुबान र बाढीले बबण्डर मच्चाउँछ । जसै हिउँद लाग्छ चिसोको चपेटामा पर्छन् नागरिक । अझै विपन्नलाई चिसोले पनि चरम समस्यामा पार्छ ।

केही दिनदेखि नेपालमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासँगै देशभर तापक्रम घटेसँगै चिसो बढेको हो । चिसो बढेसँगै देशभरको जनजीवनसमेत प्रभावित हुन थालेको छ । तराईं र पहाडका केही ठाउँमा हुस्सु र हिमालमा हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको हो । तराईंमा बिहानै हुस्सु लाग्ने र दिउँसोसमेत बाँक्लो कुहिरो लाग्न थालेको छ । हुस्सु र कुहिरोले घाम देखिन छोडेपछि चिसो थप बढेको हो । हुस्सु र कुहिरोसँगै चल्ने चिसो हावाले तराईंमा घरबाहिर निस्किनसमेत समस्या हुन थालेको छ । चिसो बढेसँगै मानिसहरूको चहलपहलसमेत घट्न थालेको छ । चिसोले देशभर वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढ्न थालेका छन् । अझै विपन्न समुदाय चिसोबाट बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू बढी मारमा परेका छन् । रिक्सा, ठेला चलाउनेलगायत बाहिर काम गर्ने मजदुरहरू चिसोले बढी प्रभावित भएका हुन् । मिहिनेत मजदुरी गरेर दुई छाक टार्ने समुदायका मानिसहरू काममा जान पाएका छैनन् ।

आगामी तीन दिन चिसो अझै बढ्ने
आगामी तीन दिनसम्म अझै चिसो बढ्ने भएको छ । पश्चिमी वायुको प्रभावका कारण अझै तीन दिनसम्म चिसो अझै बढ्ने मौसमविद्हरूले बताएका छन् । पश्चिमी वायुका कारण चिसो बढिरहेको जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश भागमा शीतलहरको सम्भावना रहेको छ । पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको छ । जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताउनुभयो । हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उहाँले बताउनुभयो । ‘पश्चिमी वायुका कारण चिसो बढेको छ । आगामी तीन दिनसम्म देशको अधिकांश भागमा लगभग शीतलहरकै अवस्था रहन्छ,’ उहाँले भन्नुभयो, ‘चिसो अझै बढ्नेछ । पश्चिमी वायुको प्रभाव परेका कारण पनि तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात अवस्था बढेको छ ।’

बिहानै घरबाहिर ननिस्कौँ, निस्कनै परे मास्कको प्रयोग गरौँ : डा. उप्रेती
आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । शीतलहरको सम्भावना रहेकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न र आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका हुन् । अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । केही दिन ‘मर्निङ वाक’ नगएर सकेसम्म कोठामै योगाभ्यास गर्नुपर्ने उहाँले बताउनुभयो । चिसोले फोक्सोको क्यान्सरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरूमा समस्या र बालबालिका र वृद्धवृद्धामा बढी असर गर्ने उहाँको भनाइ छ । डा. उप्रेतीले न्यानो लुगा लगाउन र पानीमा धेरैबेर नभिज्न आग्रह गर्नुभयो । सकेसम्म बिहानै बाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो । आगो ताप्दा वा हिटर बाल्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्न उहाँले अनुरोध गर्नुभयो ।

यता, जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखा पर्न थालेका छन् । अबका दिनहरूमा अझै चिसो बढ्ने भएकाले दीर्घरोगी, वृद्ध–वृद्धा, बालबालिकाकालाई जोगाउन चिकित्सकले सुझाव दिएका छन् । चिसोसँगै जटिल तथा नसर्ने रोगीहरूलाई बढी समस्या हुने गर्दछ । सरुवा रोगको हकमा जाडो मौसम केही सहज भए पनि दीर्घरोगी, वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम हुने गर्दछ । सामान्य तथा बाथरोग, मुटुजन्य रोग, श्वास–प्रश्वासमा समस्या भएका र छालामा देखिने रोग यो चिसो मौसम सुरु हुनासाथ जटिल बन्दै जाने गर्दछ । यस किसिमका रोगीको यो मौसममा विशेष हेरचाह नभए ज्यान जोखिममा पर्न सक्ने भन्दै चिकित्सककले विशेष हेरचाह गर्न सुझाएका छन् । आइतबार काठमाडौंको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको बुधबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।

बढ्यो विद्युत् खपत
मुलुकभर तापक्रम घट्दै जाँदा विद्युत्को माग पनि बढ्दै गएको छ । नेपाल विद्युत् प्रधिकरणको दैनिक खपत विवरणअनुसार एकसाताको अवधिमै दैनिक एक सय मेगावाट आवर विद्युत् खपत बढेको छ । चिसो बढ्दै जाँदा स्वदेशी जलविद्युत् आयोजनाको बिजुली उत्पादन क्षमता पनि घटेकाले प्राधिकरणले भारतबाट आयात पनि क्रमिक रूपले बढाउँदै लगेको छ । पुस ९ गते शनिबार देशभर २८ हजार १५१ मेगावाट घण्टा विद्युत् खपत भएकोमा सो दिन चार हजार ६८ मेगावाट विद्युत् आयात भएको थियो । १० गते खपत २० हजार २९९ मेगावाट आवर पुग्दा आयात भने पाँच हजार ९७७ मेगावाट गर्नुपरेको थियो । सोमबार भने विद्युत् माग तथा खपत भने केही घटेको देखिन्छ । तर, मंगलबार पुनः माग बढेर २९ हजार ५३५ मेगावाट पुगेको थियो भने सो दिनको आयात पाँच हजार १६८ मेगावाट प्रतिघण्टा रहेको थियो ।

बुधबार नेपालभर ३० हजार २०९ मेगावाट विद्युत् खपत भएपछि नेपाल विद्युत् प्राधिकरणले ६ हजार ३३२ मेगावाट प्रतिघण्टा विद्युत् आयात गर्नुपरेको थियो । पुस १४ गते बिहीबार खपत बढेर ३१ हजार ६२ मेगावाट विद्युत् खपत भएको थियो । सो दिन भारतबाट ६ हजार ९६२ मेगावाट आयात गर्नुपरेको थियो । सो दिन विद्युत् आपूर्ति आंशिक अवरुद्ध हुँदा ३२० मेगावाट घण्टा खपत कम भएको प्राधिकरणको तथ्यांक छ । शुक्रबार सार्वजनिक बिदाका दिन र ११० मेगावाट घण्टा विद्युत् अवरुद्ध भए पनि खपत ३० हजार ८४८ मेगावाट घण्टा खपत भएको थियो । भारतबाट मात्रै सात हजार २०२ मेगावाट घण्टा आयात गर्नुपरेको थियो । शनिबार पुस १६ गते भने कार्यालय बन्द हुने भएकाले खपत २९ हजार ७९२ मेगावाट घण्टा थियो भने भारतबाट आयात भएको ऊर्जाको परिमाण ६ हजार ९३२ मेगावाट घण्टा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?