बजार मागअनुसार सुन दिने गभर्नरको आश्वासन

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकताअनुसार कच्चा सुनचाँदी उपलब्ध गराउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधमिण्डलसँगको भेटमा उहाँले बजारको आवश्यकताअनुसार सुनचाँदीजस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको हो ।

गभर्नर अधिकारीले बजारको आवश्यकताअनुसार सुनचाँदीजस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सो अवसरमा गभर्नर अधिकारीले व्यवसायीसँग बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति व्यवस्था, वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङलगायतका विषयमा जानकारी लिनुभएको छ । उहाँले आयात, बिक्रीवितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्यालगायतका विषय आपसी छलफलका आधारमा सम्बन्धित निकायबाटै समाधान गर्न सुझाव दिनुभयो ।

महासंघले बजार मागअनुसार कच्चा सुन तथा चाँदीको आयातको ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचनाअनुरूप बदल्नुपर्ने, पान नम्बरका आधारमा सुन वितरण व्यवस्था गरिनुपर्ने, नाका-नाकाबाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंक खाताबाट जुनसुकै बैंकको सुन खरिद तथा भुक्तानीको व्यवस्था मिलाइनुपर्नेलगायतका माग गरेको छ । सो अवसरमा राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक रामु पौड्याल, महासंघ उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायतको उपस्थिति रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?