यति जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक कारण खुलेको छ ।

दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाउन बनेको जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गर्दै दुर्घटना हुनुको प्रारम्भिक कारण पत्ता लगाएको हो ।

जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर-७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । एन-एएनसी कलसाइनको जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ ।

इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो ।

दुर्घटनाको कारणबारे जानकारी दिए आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ ।’

१ माघमा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो ।

सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी) मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।

पोखरामा २३ दिन अगाडि भएको उक्त दुर्घटनामा  ७२ जना यात्रुको मृत्यु भएको थियो । अझै पनि दुई जनाको शव भने भेटिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?