फ्रेण्ड्सको प्रशिक्षक श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उर्जन श्रेष्ठ फ्रेण्ड्स क्लबको मुख्य प्रशिक्षक बन्नुभएको छ । फ्रेण्ड्सले ‘ए’ डिभिजनको नयाँ सिजनका लागि उर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । गत सिजन थ्रीस्टारको प्रशिक्षण सम्हालेका उर्जन यस सिजनमा फ्रेण्ड्ससँग अनुबन्ध हुनुभएको हो ।

गत वर्ष मृगेन्द्र मिश्रले फ्रेण्ड्सको प्रशिक्षण सम्हाल्नुभएको थियो । फ्रेण्ड्सले यस सिजनका लागि डोना थापा, एरोन थापा, विशाल सुनार, राजेश परियार र रूपेश केसीलाई अनुबन्ध गरिसकेको छ भने प्रेम भण्डारी र असिम भुषालसँगको सम्झौता नवीकरण गरेको छ ।

यो सिजनको लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । १४ टोलीले डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म प्रतिस्पर्धा गर्नेछन् । फ्रेण्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यस्तै, एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लबसँग छलफल गरेको छ । एन्फाले आगामी लिगका लागि विदेशी खेलाडीको नाम दर्ता, खेलाडीको बीमा, प्रतियोगिताअघिको मेडिकल मूल्यांकन, क्लब लाइसेन्स र व्यावसायिक गाइड लाइनलगायतका विषयमा क्लबसँग छलफल गरेको हो ।

छलफलमा ‘ए’ डिभिजन लिग खेल्ने १४ क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य पुरुषोत्तम थापा, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह र प्रतियोगिता निर्देशक सञ्जीव मिश्रको सहभागिता थियो ।

यस्तै, एन्फाले ‘ए’ लिग क्लबका मिडिया अफिसरका लागि मिडिया सेमिनारको समेत आयोजना गरेको छ । एआइपिएस एसिया कोषाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी र फोटो जर्नलिस्ट क्लबका पूर्वअध्यक्ष विकास कार्कीले सञ्चारकर्मीलाई विभिन्न पक्षबारे जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?