‘समृद्ध नेपालका लागि युएसएआइडीको सहयोग महत्वपूर्ण’

Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्नुभएको छ । सो अवसरमा गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्ध अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलोपटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत् विस्तार भएको जिटुजी सहयोग प्रमाण भएको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले आगामी पाँच वर्षमा कुल अमेरिकी डलर छ सय ५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत् उपयोग गरिने बताउनुभयो

अर्थमन्त्री पौडेलले विकसित मुलुकमा अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कम विकसित मुलुकको अर्थतन्त्रको सुधारको गति सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनले अन्य बोझ थपेको बताउनुभयो । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उहाँले नेपालले सन् २०२२ को मेमा युएसएआइडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर छ सय ५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत् उपयोग गर्ने बताउनुभयो । युएसएआइडी प्रशासक सामन्थाले नेपालमात्र जिटुजी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताका मौलिक हकहरूको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना लिएर सरकार विकासको पथमा अघि बढिरहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराउनुभयो । सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा नेपालस्थित अमेरिकी राजदूत, युएसएआइडी नेपालका मिसन डाइरेक्टरलगायतको उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?