अब पालो पौडेलको

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 17 mins

नेपालमा बेला न कुबेला कोही न कोही चर्चित हुने गर्दछ । कोही आफ्ना कामले चर्चित हन्छन्, चाहे त्यो राम्रो होस् या नराम्रो । कोही भने विशेष मिसनअन्तर्गत समाजले, राजनीतिक दलले र मिडियाले जबर्जस्ती उचालेका कारण देशव्यापी रूपमा छाउने गर्दछन् । कसैका उजिल्याउने पक्षलाई पनि छोप्ने गरिन्छ भने कसैका भए न भएका गुणगान गरेर धेरैमाथि पुर्‍याइन्छ । को कसरी राजनीतिक मैदानमा सफल हुँदै गइरहेको छ र को उचाइबाट एक्कासि पातालमुनि कसरी पुगेको छ भन्ने कुरा सर्वसाधारणलाई जानकारी हुँदैन यद्यपि त्यसै प्रकारका हौवाका पछाडि आमनागरिक दौडिन भने कोही बाध्य देखिन्छन् त कोही लालायित भएको देख्न पाइन्छ ।

विसं २०७९ को स्थानीय निर्वाचनका बेलामा काठमाडौंका बालेन र धरानका हर्कहरू निकै माथिको चर्चामा रहे । धनगढीका गोपालसमेत त्यस्तै वाहवाहीमा थिए । विसं २०७४ को स्थानीय निर्वाचनमा चर्चाको शिखर चुमेकी रञ्जु दर्शनाहरूलाई यसपटकको संसदीय निर्वाचनमा धरौटी जोगाउन नै सकस भयो । यस्ता व्यक्तित्वको प्रचारबाजी कसरी भयो र लोकप्रियताको कसीमा सबैलाई पछाडि पार्दै राजनीतिक स्टण्ट मार्न सफल भए भन्ने कुरा पनि सर्वसाधारणलाई थाहा छैन । पाँच वर्षअघिकी सर्वाधिक प्रिय रञ्जु पाँच वर्ष पुग्दानपुग्दै मतका हिसाबले कसरी अलोकप्रिय हुन पुगिन् भन्नेमा पनि जनता अनभिज्ञ छन् र पनि नेपालमा यस्तै हुने गरेको छ ।

वर्तमान राजनीतिक मैदानमा क्रियाशील लोकतन्त्र पक्षधर राजनीतिज्ञहरू मध्ये रामचन्द्र पौडेल नै सबैभन्दा विशिष्ट र वरिष्ठ छन् भन्न कोही हिच्किचाउनु पर्दैन । उमेरका हिसाबले चित्रबहादुर केसी, पशुपति शमशेरहरू केही महिनाले जेठा होलान् नत्र संघर्षका हिसाबले कोही भन्दा पछि पर्ने खालका नेता पौडेल होइनन् ।

नेपालको चुनावको नतिजालाई सर्वाधिक चाखलाग्दो मानिन्छ । पहिलो चुनावमा अत्यधिक मत ल्याएको उम्मेदवार दोस्रो चुनावमा साह्रै तल पुग्दछ र तेस्रो चुनावमा त्यही मान्छे फेरि ज्यादै धेरै मत ल्याएर जन प्रतिनिधि हुने गरेको छ । अझ चुनावी परिणामको उपहास गर्दै उपमा दिँदा काठमाडौंमा पञ्चायतकालमा भएको रष्ट्रिय पञ्चायतको निर्वाचनमा नानीमैयाँ दाहालको विजयलाई उदाहरणका रूपमा सर्वाधिक प्रयोग गरिन्छ । त्यसैले निर्वाचन परिणाम नै उम्मेदवारको गुण मापनको सर्वोत्कृष्ट कसी होइन र पनि राजनीतिक दलका नेताहरूका बारेमा चर्चा परिचर्चा गर्दा जित र हारलाई नै हेर्ने गरिएको छ ।

पद पाएको नेतालाई सफल नेता मान्ने गरिएको छ । प्रधानमन्त्री हुन सफल राजनीतिज्ञलाई नै उत्कृष्ट नेता मान्ने अभ्यास आमनेपालीको भइसकेको छ । जति बढी पटक नेता मन्त्री भयो नेपालमा उसले उति नै ख्याति कमाउने प्रचलन छ । आफ्नो कार्यकालमा कस्ता काम गरेको छ, देश र जनताका लागि मन्त्री रहँदा के कति काम गरे, मन्त्री पदबाट मुक्ति पाइसके पछि समाजमा शीर ठाडो पारेर मैले भ्रष्टाचार गरेको छैन भन्ने हैसियत राखे कि राखेनन् भन्ने जस्ता आदर्शवादी कुरालाई भने गौण गर्ने परिपाटी नेपालमा छ ।

मान्छेका आँखा विश्वसुन्दरीको गालामा कोठी छ भने त्यही कोठीमा पर्दछ । चिटिक्क परेको सफा घरमा घाँसको त्यान्द्रो फाल्न छुटेको रहेछ भने पनि सबैका आँखा त्यसैमा पर्दछन् । पूर्णिमाको रातमा उदाएका पूर्णचन्द्रमा रहेका काला दागहरूमै मान्छेका नजर दौडिन्छन् । ठ्याक्कै त्यस्तै प्रजातान्त्रिक र गणतान्त्रिक कालमा राज्यको सर्वोच्च तहमा पुगेका नेताहरू मध्येमा कति सफा थिए र कति भ्रष्टाचारमा डुबे तर धेरैको दृष्टि भ्रष्टाचारीहरूमा मात्र पुगे ।

त्यही मेसोमा समाजले आँखा गाडेको र चित्त बुझाउन नसकेको विषय समातेर दौडिन सफल दलहरू र नेताहरूले विसं २०७९ को आमनिर्वाचनमा सफलता प्राप्त गरे । तिनैमध्येका रवि लामिछाने सर्वाधिक सफल भएका पात्र थिए । विगतका ठूला दलहरू र चर्चित नेताहरूका कमजोरी उजागर गर्दै आफूलाई स्थापित गराउन प्रयत्नशील धेरै थिए तर अरू सबै पछि परेर रविमात्रै अघि बढेका थिए । त्यतिबेला समाजले, युवावर्गले र मिडियाहरू सबैले रविलाई साथ दिएका थिए । सबैको सहयोगले हौसिएका रवि एकाएक गल्र्याम्गुर्लुम्म ढल्न पुगे र यसमा पहिला जजसले साथ दिएका थिए तिनीहरूकै मुख्य भूमिका देखियो । यसो किन गरियो भन्ने पनि आमनागरिकलाई जानकारी हुने कुरै भएन ।

यसैगरी चर्चामा ल्याइने र पछि धकेल्न भरमग्दुर प्रयास गरिने अर्का पात्र हुन् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । अरूहरूको राजनीतिक क्षेत्रमा न विगत थियो न भविष्यका लागि ठोस योजना नै, त्यसैले जसरी उदाएका थिए त्यसैगरी बिलाउने बाटोमा छन् भन्न सकिएला तर रामचन्द्र पौडेल ती भन्दा नितान्त बेग्लै व्यक्तित्व हुन् र पनि समाज र मिडियाले बेलाबखत प्रायशः अनावश्यक र यदाकदा सत्यतथ्य आरोपहरूले सजिसजाउ गर्ने गरेको पाइन्छ । रामचन्द्र न कहिल्यै चम्किए, न कहिल्यै अस्ताए । राजनीतिमा सदाबहार छन् र पनि उनका समर्थनमा भन्दा विरोधमा आवाज घन्काउन प्रयासरतहरू भेटिने गरेका छन् ।

वर्तमान राजनीतिक मैदानमा क्रियाशील लोकतन्त्र पक्षधर राजनीतिज्ञहरू मध्ये रामचन्द्र पौडेल नै सबैभन्दा विशिष्ट र वरिष्ठ छन् भन्न कोही हिच्किचाउनु पर्दैन । उमेरका हिसाबले चित्रबहादुर केसी, पशुपति शमशेरहरू केही महिनाले जेठा होलान् नत्र संघर्षका हिसाबले कोहीभन्दा पछि पर्ने खालका नेता पौडेल होइनन् । विचार, विचार प्रवाह र सिद्धान्त विज्ञका रूपमा कुरा गर्दा प्रदीप गिरि त गइसके, अहिलेका लोकतान्त्रिक समाजमा नेताहरूका बीचमा अग्रणी स्थानमा नै पौडेल छन् र पनि पौडेलका पक्षमा भन्दा विपक्षमा किन बढी तर्क गरिन्छ भन्नेमा पनि अधिकांश अनभिज्ञ नै छन् ।

पौडेललाई सानो मुटु भएको भन्ने आरोप लाग्ने गर्दछ । उनका भाषणमा मुटु ठूलै देखिन्छ । बैठकहरूमा धारणा राख्ने क्रममा कोही कसैसँग डराएर आफ्ना विचारलाई भित्रभित्रै कैद गरे जस्तो पनि लाग्दैन । एउटा कुरा चाहिँ पक्का हो कि उनले राज्यको मनपरि दोहन गर्न चाहिँ डराएको जस्तै लाग्दथ्यो र राज्यशक्तिको प्रयोग गरेर धन संकलन गरी कार्यकर्तालाई वितरण गर्न भने उनले छाति फुकाउन नसकेकै हुन् । यसमा पौडेल किन डराए, त्यो भने थाहा छैन । यो अभियानमा भने पौडेलको मुटु ज्यादै सानो नै देखिएको छ ।

पौडेलका समकालीन नेताहरू धेरै सांसद् नै हुन नपाई इहलीला समाप्त गरेर कता छन् थाहा छैन । उनका अनेकौं दौँतरीहरू संघर्षका दौरानमै धर्ती छाड्न बाध्य पनि भए । पौडेल भने पटक-पटक सांसद् बने, मन्त्री बने, उपप्रधानमन्त्री बने, सभामुख बने । उनले अब पाउन बाँकी रहेका पद भनेका प्रधानमन्त्री र राष्ट्रपतिमात्रै हुन् । यति धेरै अवसर पाइसकेपछि पौडेल किन मरिहत्ते गर्छन् भन्दै उनलाई लोभीको उपमा भिराउने गरिएको छ । उमेरले डाँडो काटेपछि र सबै पदहरूले विभूषित भइसके पछि पनि पौडेल किन यति लालायित भएका होलान् भन्ने प्रश्नले उनलाई छाडेको छैन ।

गणतान्त्रिक आन्दोलनका बेलामा बयल गाडा चढेर गणतन्त्र आउँदैन भन्नेहरू दुई-दुई पटक प्रधानमन्त्री भएर पनि पुनः त्यही कुर्सीका लागि योजना बुन्दैछन्, षड्यन्त्र गर्दैछन् । आफ्नै समकालीन पाँच पटक प्रधानमन्त्री भएर छैटौं पटकका लागि प्रयासरत छन् । राजतन्त्र पुनःस्थापित गर्छु भन्नेहरू मन्त्री भएका छन् भने लोकतन्त्र स्थापनाका लागि लोकतन्त्रका माध्यमबाट देश र जनताको मुहार फेर्छु भन्ने अभियानमा निरन्तर साठी वर्ष बिताएको मैले प्रधानमन्त्री या राष्ट्रपतिको आशा गर्न किन नहुने भन्ने पौडेलको तर्कलाई बिनाआधार खण्डन गर्न उचित देखिँदैन । अरूले बारम्बार त्यही पद ताक्दा लोभीको सज्ञा दिइँदैन तर एकपटक आसनमा बसेर सुशासन दिने प्रयत्न गर्छुभन्दा पौडेललाई अनेक आरोप लगाउने गरिएको पाइन्छ ।

नेपालमा गणतन्त्रको बिउ रोप्ने गगन थापाहरू नै हुन् । त्यतिबेला गगनका नेता पनि अरूहरू नै थिए होलान् तर अहिलेको समकालीन राजनीतिमा सक्रियहरूमध्ये गगन नै उपल्लो तहमा छन् । हुन त गणतन्त्रको झिल्को सल्काउने हामीहरू हौँ भन्ने दाबी कम्युनिष्टहरूको होला तर पनि यथार्थमा गगनहरू नै हुन् । यिनै गगनले अब प्रधानमन्त्री बन्छुभन्दा हतार गर्‍यो भन्ने टिप्पणी गरिन्छ तर देश र जनताका नाममा सिन्को नभाँचेकाहरूलाई भने राजनीतिक क्षेत्रमा प्रवेश गरेको आधा वर्ष नकट्दै स्वीकार गर्ने हाम्रो परम्परा छ ।

ठ्याक्कै त्यस्तै निष्ठाको राजनीति गरेका रामचन्द्रलाई अस्वीकार गर्दै आर्थिक प्रकरणमा चर्चा कमाएकालाई फूलमाला लिएर सम्मान गर्न पनि अगाडि नै सर्ने गरिएको छ । अरूले राजनीतिमा प्रवेशै नगरेका श्रीमतीहरूलाई सांसद बनाएका छन्, छोराहरू अघि सार्दैछन् । बाबु प्रधानमन्त्री र छोरा मन्त्री यही नेपालमा भएका छन् । छोरीहरूलाई विभिन्न अवसर दिने नेताहरू पनि यहीँ छन् । कसैका बारेमा चर्चा हुँदैन तर छोरालाई एकपटक र सम्धीलाई एकपटक सानो पदमा नियुक्ति गराएवापत् पौडेललाई भने बारम्बार नातावादको आरोप लाग्ने गरेको पनि अचम्मैको विषय छ ।

धेरै समय विभिन्न पदमा आसीन भए तापनि अख्तियारले मात्रै होइन समाजले पनि भ्रष्टाचारका सन्दर्भमा औंला ठड्याउन नसकेका पात्र पौडेल नै हुन् भन्दा अत्युक्ति नहोला तथापि पौडेल कुनै पदमा जान खोजे भने किन आपत्ति हुन्छ भन्ने चाहिँ बुझ्न सकिएको छैन ।

पौडेलका सकारात्मक पक्षहरू धेरै छन् । नकारात्मक पक्ष पनि हुँदै नभएका रामचन्द्र पक्कै होइनन् । देउताहरूले त गल्ती गरेका पर्याप्त उदाहरण छन् भने पौडेल त मानव नै हुन् । यद्यपि धेरै समय विभिन्न पदमा आसीन भए तापनि अख्तियारले मात्रै होइन समाजले पनि भ्रष्टाचारका सन्दर्भमा औंला ठड्याउन नसकेका पात्र पौडेल नै हुन् भन्दा अत्युक्ति नहोला तथापि पौडेल कुनै पदमा जान खोजे भने किन आपत्ति हुन्छ भन्ने चाहिँ बुझ्न सकिएको छैन ।

रामचन्द्रको समर्थन पाएका भए डा.शेखर कोइराला अहिले सभापति हुन्थे होलान् । यसो भएको भए राष्ट्रपति हुन पौडेललाई त्यति धेरै पापड बेल्न पर्ने थिएन होला । त्यतिबेला के भयो, के भएन उहाँहरूलाई नै थाहा होला तर विद्या भण्डारीले बिगारेको संविधानको कोर्सलाई सच्याउनका लागि एउटा सच्चा लोकतन्त्रवादी त्यो पदमा पुग्न आवश्यक छ । रामचन्द्र हुन् वा उनकै प्रकृतिका लोकतन्त्रको संघर्षबाट खारिएका व्यक्तिले मात्र त्यसलाई सही लिकमा ल्याई जनताका मनमा लोकतन्त्रको दियो जलाउन सक्दछ ।

एमालेकै राष्ट्रपति भए आफू कठपुतली हुनेछु भन्ने प्रधानमन्त्री प्रचण्डले राम्रैसँग ख्याल गरेको अवस्था छ । विदेशको इशारामा संविधान नै मिचेर सर्वसम्मतिका नाममा कुनै नौलो व्यक्ति राष्ट्रपति त आउने होइन भन्ने आशंका जनताले गरिरहेका पनि छन् । यस्ता सम्पूर्ण आशंकालाई चिर्दै मुलुकलाई सही दिशा दिनु संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको दायित्व हो तर यो भूमिकालाई कसरी निर्वाह गर्ने हो भनी सबैले हेरिरहेका छन् । यही मेसोमा राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा पौडेलको चर्चा चुलिँदै गएको छ तर मुलुकका राजनीतिक दलहरूले सही निर्णय गर्छन् कि गर्दैनन् भन्ने जान्नलाई फागुनको अन्तिम साता कुर्नै पर्ने भएको छ । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर अहिले प्रचण्ड एवं माओवादी केन्द्र पछुताए झैँ पछि पछुताउने काम कसैले नगरून्, अपेक्षा यतिमात्रै हो ।

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2023-02-09 9:09 am

Sahamat

देवीभक्त ढकाल
देवीभक्त ढकाल
2023-02-09 9:21 am

प्रजातान्त्रिक पद्धतिमा सायद पालो भन्ने शब्दावली नभएको हुनुपर्छ।यो शब्दले प्रजातान्त्रिक पद्धति ,संस्कार र मूल्यलाई नै अवमूल्यन गर्न पनि सक्छ।पदलाई पालोले भन्दा योग्यता र लोकप्रियताले कमाण्ड गर्नुपर्छ।प्रजातान्त्रिक शासनमा डिमाण्डको भन्दा कमाण्डको कोणबाट व्यक्तिको आवश्यकता र औचित्यलाई पुष्टि गर्नुको विकल्प नहुन पर्छ तर नेपाल हो यहाँ कमाण्ड भन्दा डिमाण्डले बाजी मारेका उदाहरणहरु प्रशस्तै भेटिन्छन् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?