कलैया बजारमा सडक निर्माणको काम अलपत्र

कलैया उपमहानगरपालिका-१ कलैया बजार जाने मूल सडक अलपत्र अवस्थामा ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । लामो समयदेखि कलैया उपमहानगरपालिका-१ स्थित कलैया बजार जाने सडक निर्माण नहुँदा कलैयावासीहरू धुलोले आजित बन्दै गएका छन् । एकातिर धुलोले व्यापारी, व्यवसायी र सर्वसाधारण आजित बनेका छन् भने अर्कोतर्फ सडक निर्माण गरिरहेको ठेकेदार कम्पनीले म्याद सकिएको भन्दै काम अलपत्र छोड्दा झनै समस्या थपिएको नगरवासीहरूले गुनासो गरेका छन् ।

कलैया उपमहानगरपालिकाले मिति २०७८ साल चैत महिनामा कलैया बजार जाने सडकको ठेक्काको सूचना प्रकाशित गर्‍यो । सूचना प्रकाशित भएपछि विभिन्न कम्पनीका ठेकेदारहरूले ठेक्काका लागि फारम भरे । तिनीहरूमध्ये चैत २२ गते एनएन कन्स्ट्रक्सन वीरगञ्जले सडक निर्माण गर्ने ठेक्का पायो ।

एनएन कन्स्ट्रक्सनले भ्याटसहित ५९ लाख ४१ हजार ४७२ रुपैयाँमा कलैया बजारको सडक निर्माण गर्ने ठेक्का पायो । कलैया उपमहानगरपालिका र एनएन कन्स्ट्रक्सनका बीचमा २०७९ साल मंसिर १५ गतेभित्रमा सडक निर्माण गर्ने गरी ठेक्का सम्झौता भयो । ठेक्का सम्झौता सम्पन्न गर्नुपर्ने समय दुई महिना बढी बितिसक्दासमेत सडक निर्माण हुन सकेको छैन । ठेक्का समाप्त भएको १५ दिनपछि पुस महिनामा काम सुरु भए पनि कछुवाको गतिमा काम सुरु गर्दा १० प्रतिशत पनि काम हुन नसकेको कलैया उपमहानगरपालिका-१ का स्थानीय सुरेश साहले बताउनुभयो । ‘विभिन्न वहानामा ठेकेदार काम गर्नबाट पन्छिँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘ठेक्का सम्झौता गरेको समय बितेको दुई महिनाभन्दा बढी समय भइसकेको छ । तर, अहिलेसम्म १० प्रतिशत काम हुन सकेको छैन । उपमहानगरपालिकाको लापरबाहीका कारण हामीले सास्ती खेप्नुपरेको छ ।’

हाल आएर कलैया उपमहानगरपालिका, बारा उद्योग वाणिज्य संघ र बजारका व्यापारीहरूको दबाबमा काम सुरु गरिएको छ । सम्झौता समाप्त भइसके पनि हाल आएर काम सुरु गरेका ठेकेदारले कछुवाको गतिमा कामलाई अगाडि बढाएका छन् । २० दिनदेखि सडक ढलानको कार्य सुरु गर्दासमेत अहिलेसम्म १० प्रतिशत काम हुन नसकेको किराना व्यवसायी संघका अध्यक्ष विष्णु पौडेलले बताउनुभयो । कलैया उपमहानगरपालिकाको लापरबाही र ठेकेदारको मनोमानीले सडकको काम पछाडि परेको उहाँले आरोप लगाउनुभयो । पालिकाहरूले समयमा काम नगर्ने ठेकेदारहरूलाई दण्डित गर्नुभन्दा समयसीमा थप गरिदिँदा उनीहरूको मनोबल बढेको र समयमा काम गर्न आनाकानी गर्ने गरेको उहाँले बताउनुभयो ।

कलैया उपमहानगरपालिका-१ कलैया बजार जाने सडकको समयसीमा तीन महिना थपिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो । ‘हामीले पटक-पटक सडक निर्माणको काम गर्न दबाब दियौँ,’ उहाँले भन्नुभयो, ‘तर, ठेकेदार काम गर्नुभन्दा पनि विभिन्न वहाना बनाएर पन्छिँदै आयो । अहिले चौतर्फी दबाबपछि केही काम अगाडि बढाएको छ र बीचमा ढुंगा, गिटी, बालुवा बन्द भएका कारण सडक निर्माणको कार्य रोकिएको थियो ।’ एक-दुई दिनभित्रै काम सुचारु हुने उहाँले बताउनुभयो ।

यता, एनएन कन्स्ट्रक्सनका प्रोप्राइटर निरञ्जनकुमार गुप्ता भने सडक ढलानका लागि चाहिएका सरसामानहरूको भाउ बढेका कारण सडक ढलान कार्य ढिला हुन गएको बताउनुहुन्छ । कन्स्ट्रक्सनले गरेको ठेक्काको समयको मूल्य र अहिलेको मूल्य धेरै फरक भएका कारण समयमा काम गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले थप गरिएको समयसीमाभित्रै सडक निर्माणको कार्य सम्पन्न हुने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?