एमालेले दुई महिने विशेष संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)ले दुईमहिने विशेष संगठनात्मक सुदृढीकरण अभियान गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश १ को इञ्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै, धनुषा जिल्ला इञ्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी, पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताउनुभयो ।

उहाँले पूर्व-सहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनु पर्नेमा जोड दिनुभयो । त्यस्तै, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उहाँले बताउनुभयो । फरक-फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरूलाई समाधान गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने पनि बैठकले निष्कर्ष निकालेको उहाँले बताउनुभयो । एमालेले गठबन्धन टिकाउने संकल्प गरेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?