औद्योगिक तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

Read Time = 4 mins

काठमाडौं । नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ र मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म हुने भएको हो । आयोजकका अनुसार कोरोनाका कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्रांगारिक कृषि मेला-२०७९ हुनेछ ।

लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहक भए तापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योग प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन्, जसले गर्दा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् । उल्लेखित समस्या सम्बोधन गर्न र एकअर्काबाट सिक्न तथा ज्ञान र सीप आदानप्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले नियमितरूपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना गर्न सुरु गरेको मेला संयोजक शोभा गुरुङले बताउनुभयो ।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगका उत्पादन प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत हुने मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादन समावेश गरी बिटुबी, बिटुसी, बिटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सवलगायत प्रदर्शनीका थप आकर्षण हुने मेला संयोजक गुरुङले बताउनुभयो ।

आयोजकका अनुसार मेलामा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ भने दुई सय स्टल रहने महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताउनुभयो । महासंघको आयोजनामा हुने मेलाको सहआयोजकमा अर्गानिक एसोसिएसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्डलगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?