जुम्लाका स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहलाई आगामी आउने वैशाख महिनाभित्र पूर्ण खोप सुनिश्चित गरिने भएको छ । आगामी वर्ष २०८० को वैशाखभित्र यहाँका स्थानीयलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने कार्ययोजनाअनुसार लागिपरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख विष्णु सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संहयोजकसँग पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपनाको कार्ययोजना गोष्ठी सम्पन्न भइसकेको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाले भन्नुभयो, ‘सम्बन्धित सरोकारवालाहरूको सुझावअनुसार वैशाखभित्रै पूर्ण खोप पालिका घोषणा गर्ने कार्ययोजनामा लिखित प्रतिबद्धता गरेका छन् ।’ जिल्लालाई पूर्ण खोप घोषणा भइसके पनि राष्ट्रिय खोप कार्यक्रमअनुसार हरेक वर्ष १५ महिनामुनिका लक्षित बालबालिकालाई सबै प्रकारका खोप लगाएर सुनिश्चित गर्नुपर्ने सरकारको लक्ष्यअनुसार जुम्लाका स्थानीय तहलाई वैशाखभित्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारीमा जुटेको जनस्वास्थ्य कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

सो तालिकाअनुसार आगामी वैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पूर्ण खोप नगर घोषणा गर्ने कार्ययोजना तयारी भएको छ । तातोपानीलाई वैशाख १३ गते, तिला १५, हिमा १४ र सिंजा गाउँपालिकालाई ८, कनकासुन्दरी २४, गुठीचौर २० र पातारासी गाउँपालिकालाई ७ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जन्मेदेखि १५ महिनामुनिका लक्षित सबै बालबालिकाले अनिवार्यरूपमा लगाउनुपर्ने, बिसिजी, रोटा, पोलियो, एफआइपिभी, पिसिभी, डिपिटी, हेपविहिब, दादुरा, जेई, टाइफाइड गरी करिब एक दर्जन खोप लगाएको प्रमाणित भएपछि मात्रै वडा हुँदै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुने सो कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्यले सरकारको कार्ययोजनाभित्र रही जिल्लाका स्थानीयलाई पूर्ण खोप सुनिश्चित गर्न सबैको सहयोग र समन्वय चाहिने भएकाले सो कामलाई सफल पार्न स्थानीय तहको थप जिम्मेवारी रहेको बताउनुभयो । पूर्ण खोप सुनिश्चित गर्नका लागि पालिकाबाट चाहिने सबै सहयोग हुने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?