चितवन-२ मा वैशाख १० मा उपनिर्वाचन हुने

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उहाँ पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, चैत २० मा उम्मेदवारी दर्ता हुनेछ भने २१ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । यस्तै, चैत २२ मा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशित गर्ने गरी मिति तोकिएको छ । २३ चैतमा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चिहृन प्रदान गरिने आयोगले जनाएको छ ।
मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्नुभएको थियो । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत र एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउनुभएको थियोे । रास्वपाले यस क्षेत्रमा उपनिर्वाचनको मिति चाँडो तोक्न दबाब दिँदै आएको थियो ।

उपनिर्वाचनको मिति घोषणापछि लामिछाने उत्साहित
अवैध नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएको भन्दै सर्वोच्चले चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । अहिले लामिछानेले प्रक्रिया पुरा गरी नयाँ नागरिकता पनि प्राप्त गरिसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त पदमा रवि लामिछानेलाई नै उम्मेदवार उठाउने निर्णय गर्नेमा शंका छैन । रास्वपा अहिले सत्तारुढ दलको महत्त्वपूर्ण घटक पनि हो । आगामी निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवारी दिन्छ या आपसी प्रतिस्पर्धा गर्छ भन्ने विषयमा धेरैको चासो देखिएको छ । तर सत्तारुढ गठबन्धनले यस विषयमा मुख खोेलिसकेको छैन । नेकपा एमालले उक्त पदमा रवि लामिछानेलाई समर्थन गर्न सकिने संकेत गरे पनि आधिकारिक निर्णय भने गरिसकेको छैन । एमालेले लामिछानेलाई समर्थन ग¥यो भने उहाँलाई जित हात पार्न धेरै कसरत गर्नुपर्ने देखिँदैन । गत निर्वाचनमा लामिछानेसँग पराजित बनेर उपविजेता बन्नुभएका नेपाली कांग्रेसका उमेश श्रेष्ठ भने आफू नै उम्मेदवार बन्ने दाबी गर्नुभएको छ । यद्यपि पार्टीले आधिकारिक निर्णय गर्न भने बाँकी नै छ । नेता श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन समेत दिनुभएको थियो । उहाँको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन ।

उपनिर्वाचनको मिति आफूले आग्रह गरेबमोजिम नै छिट्टै तोकिएको भन्दै लामिछाने पनि उत्साहित देखिनुभएको छ । पहिलेभन्दा अझ शानदार ढंगबाट चुनाव जित्ने उहाँको अपेक्षा छ । ‘जिताउने कि के गर्ने भन्ने जनताकै हातमा छ । तथापि मलाई आशा छ पहिलेभन्दा पनि राम्रो नतिजा आउँछ । म मेरा क्षेत्रका नागरिकको भावनालाई नियालिरहेको छु उहाँहरूको प्रतिक्रियालाई पनि सुनिरहेको छु त्यसले मलाई उत्साहित बनाएको छ । तर, पनि चुनाव हो अहिले नै सबै कुरा भन्न त कसले पो सक्छ र :’, लामिछानेको प्रतिक्रिया छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सो क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने र लामिछानेलाई नै समर्थन गर्ने बुझिएको छ । अर्कोतर्फ लामिछानेको राहदानीको विषयमा पनि अनुसन्धान चलिरहेको छ । राहदानी दुरुपयोगको विषयमा अन्तिम फैसलाले दोषी ठहर गरेको स्थितिमा भने उम्मेदवार नै बन्न नपाउने कानुनी व्यवस्था छ । अनुसन्धानको प्रक्रिया लम्बियो भने चाहिँ लामिछानेलाई उम्मेदवारी दिन कुनै समस्या हुने देखिँदैन । गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउनुभएको थियो । तेस्रो स्थानमा रहनुभएका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?