सहाराविहीनको सारथि बन्दै गुठिचौर गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । वर्षौंदेखि टहरामा बास बसिरहनुभएकी जुम्लाकी विजमाया जैसीको आवास अभियानका लागि जिल्लाको गुठिचौर गाउँपालिकाले एक लाख रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले तत्काल एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास बन्ने केही आशाको सुरुवात भएको छ ।

गुठिचौर-५ निवासी ४० वर्षीया विजमाया जैसीको तीन वर्षदेखि हिउँले घर भत्किँदा परिवार टहरामा थियो । सो विषय सञ्चारमाध्यमले बाहिर ल्याएपछि विजमायाको आवास बनाउने अभियान सुरु भएको छ । गाउँपालिकामा विजमायाले दिएको निवेदनअनुसार गाउँपालिकाले सुरुवात गरेपछि अब केही आशा जागेको र गाउँपालिकालाई सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो । उहाँले यतिले आवास बनाउन नसकिने तर गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । विजमाया जैसीको परिवार तीन वर्षदेखि टहरामा हुनुहुन्छ, उहाँसँगै १५ वर्षीय छोरा र ११ वर्षीया छोरीसमेत त्यही टहरामा बस्न बाध्य छन् । १२ वर्षअघि घर छाडेर गएका श्रीमान् घर फर्केका तर ज्यानमात्रै लिएर आएका विजमाया बताउनुहुन्छ । गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरवासविहीन विजमायाको घरका लागि कार्यपालिकाले सुरुवात गरेको तर थप प्रयासमा आफू भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत देवकी रावतका अनुसार उहाँलाई सञ्चारमाध्यममा आवास नभएको समाचार आएपछि सुरुवात गरिएको हो । उहाँको सहयोगका लागि अन्य कानुनअनुसार मिल्ने केही बजेट शीर्षक भएमा पनि गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो । उहाँले विजमायाको आवासका लागि अन्य गैरसरकारी संस्था तथा निकायहरूले पनि थोरै-थोरै सहयोग गर्न अनुरोध गर्नुभयो । विजमाया आवासका लागि सरोकारवाला निकाय धाउँदै पत्रकार महासंघमा पनि पटक-पटक पुग्नुभएको थियो ।

यसपछि विजमायाको अवस्था बुझ्न महासंघका उपाध्यक्ष दिलमाया शाही नेतृत्वको टोली फाईगाउँमा पुग्नुका साथै महासंघले आवास निर्माणका लागि आभास अभियान सुरु गरेको थियो । विजमायाको पुरानो घर ठीकै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहनुभएको थियो । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्कियो । घर बनाएको जग्गा माइतीले दिएका हुन् । ‘घर बनाउने पैसा थिएन । त्यही भत्केको घर नजिक काठको टहरा बनाएको हुँ,’ उहाँ भन्नुहुन्छ, ‘अरू दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुखदुःख साट्छन । मेरो त्यो बाटो पनि छैन । आफ्नो मात्रै मिहिनेतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको छ ।’ विजमायाले घर बनाइदिन सहयोगका लागि वडा कार्यालय, गाउँपालिकामा पनि गुहार गरिरहनुभएको थियो । ‘अहिलेसम्म मेरो विषय सुनुवाइ भएको छैन । विजमायाको माइतमा बुढा भइसकेका बुबा हुनुहुन्छ । दुई भाइहरू र दिदी हुनुहुन्छ । माइतमा पनि आर्थिक अवस्था कमजोर नै छ । घर बनाइदेऊ पनि भन्न सकिँदैन,’ उहाँले भन्नुभयो ।

विजमायाका छोराछोरी त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्दैछन । छोरा १० र छोरी ६ कक्षामा पढिरहेका छन् । दुवैले पढ्ने सरकारी विद्यालय हो । आफूले स्कुलको पोशाकसमेत किनिदिन नसकेका कारण उनीहरू विद्यालय जान खासै मान्दैनन् भन्ने विजमायाको बुझाई छ । विजमायाले गाउँपालिकाले एक लाख सहयोग गर्ने भनेपछि खुसी व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?