अबको आवश्यकता एक्सनमा जाने नै हो : प्रधानमन्त्री

Read Time = 7 mins

देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको आवश्यकता भनेको काममा अगाडि बढ्ने रहेको बताउनुभएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा महेन्द्रनगरमा आयोजित औद्योगिक व्यापार तथा पर्यटन मेला उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अबको आवश्यकता भनेको एक्सनमा जाने नै हो, अबको आवश्यकता काममा अगाडि बढ्ने नै हो । काम नगरी बस्ने छुट हामी कसैलाई पनि छैन । हाम्रा कार्यक्रमलाई तीव्रगतिमा सम्पन्न गर्दै यथास्थितिमा रुमल्लिने प्रवृत्तिको अन्त्य आजको आवश्यकता हो । जनतामा देखिएको निराशा आशामा बदल्दै दृढसंकल्प र नेतृत्व हाम्रा विकासका लागि आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामीसँग समय कम छ । समाजवादोन्मुख दिशामा अघि बढ्न सक्छौँ भन्ने प्रमाणित गर्नुपर्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा छ ।’ उहाँले गौरीफन्टा नाका स्तरोन्नति, खप्तड, रामारोसन पर्यटन क्षेत्र विकास, वन पैदावर उद्योग स्थापना, अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापनासमेत आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिमको समग्र विकासका लागि अघि सारिएका योजना अघि बढाउने विषयमा कहीँ कतै कुनै कैफियत रहन नदिइनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कतिपय मेरै कार्यकालमा र अन्य समयमा यहाँको समग्र विकासका लागि अघि सारिएका योजना (महाकाली करिडोर, मझगाउँ विमानस्थल, सुक्खा बन्दरगाह, अपर चमेलिया, पश्चिम सेती, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज) काममा कुनै कैफियत रहन दिइने छैन । यहाँका विकास परियोजना तीव्ररूपमा सम्पन्न गर्न सरकारतर्फबाट मेरो पूर्ण प्रयास रहनेछ ।’
पूर्वमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले तीन वर्षमा कञ्चनपुरको भाग्योदय हुने गरी काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले आशा गरेका छौँ, विकासका काम अब सुदूरपश्चिमबाटै सुरु हुन्छन् । तीन वर्षमा यो क्षेत्रको भाग्योदय हुनेगरी यहाँका योजना सम्पन्न हुने विश्वास छ ।’

सुक्खा बन्दरगाह तीन वर्षभित्रै
प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने दाबी गर्नुभएको छ । सोही दिन दोधारा चाँदनी-१ स्थित सुक्खा बन्दरगाह निर्माणस्थलमा पुगेर उहाँले यस्तो दाबी गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सुक्खा बन्दरगाह तीन वर्षभित्रै सम्पन्न हुन्छ । अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न भएर स्वीकृतिको चरणमा छ । यसलगत्तै बन्दरगाह निर्माण हुने क्षेत्र खाली गरेर पूर्वाधार निर्माणको काम अघि बढ्नेछ ।’ भारतले बन्दरगाह निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै उहाँले भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रियासमेत अघि बढेको जानकारी गराउनुभयो ।

प्रधामन्त्री दाहालले भन्नुभयो, ‘भारतीय पक्षले बन्दरगाह निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेपछि यसबारेमा भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको छ । निकट भविष्यमा कानुनी प्रक्रियागत कुरा सम्पन्न गरेर निर्माण कार्र्य द्रुतगतिमा अघि बढाउन सक्षम हुनेछौँ । मेरो आसन्न भारत भ्रमणका बेला यो विषय प्राथमिकतासाथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

बन्दरगाह निर्माणपछि सुदूरपश्चिममात्रै नभई सिंगो देशकै आर्थिक विकासमा योगदान पुग्ने उहाँले बताउनुभयो । त्यसैगरी त्रिदेशीय साझेदारीको रणनीतिका रूपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्नेसमेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘त्रिदेशीय साझेदारीको रणनीतिमार्फत् हाम्रा दुई ठूला छिमेकी देशले हासिल गरेको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्नुपर्छ । यहाँ (गड्डाचौकी नाका) देखि चीनसँग जोड्ने महाकाली करिडोर बाटो खोल्ने काम सुक्खा बन्दरगाहसँगै अघि बढ्नेछ, यसले तपाई सुदूरपश्चिमवासीको आर्थिक जीवनमा मात्रै प्रगति हुने छैन, सिंगो राष्ट्रको आर्थिक विकासमा समेत ठूलो योगदान हुनेछ ।’ सोमबार प्रधानमन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्यमन्त्री पदम गिरी, मुख्यसचिवसहित कञ्चनपुर आउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?