निसीखोलामा स्याउ खेती विस्तार गर्दै गाउँपालिका

स्याउ लगाउने खाल्डो खन्दै गाउँपालिका अध्यक्ष सहितका कृषक ।

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रूपमा निसेलढोरलाई लिन्छ । निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउ खेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नम्बर ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ ।

निसेलढोरभन्दा वडा नम्बर ६ केही औलमा पर्छ । सीप, भल्कोटलगायतका क्षेत्रमा स्थानीयले वर्षौँ अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञानबिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका विरुवा दिएपछि खुसी हुन थालेका हुन् ।

वर्षौं अगाडि गाउँमा स्याउ लगाए पनि उत्पादन राम्रो नदिएको स्थानीय ओमबहादुर घर्ती मगर बताउनुहुन्छ । उहाँले वडा नम्बर ६ को सीपमा स्थानीयले प्राविधिक ज्ञानबिनै स्याउ लगाएको हुँदा फलाउन नसकेको भन्दै यसपालि स्थानीय सरकारकै सहयोग हुँदा उत्पादन राम्रो हुनेमा आशावादी रहेको बताउनुभयो । घर्तीमगर भन्नुहुन्छ, ‘यो ठाउँ भौगोलिक हिसाबले पनि उच्च ठाउँमै छ, पहिला लगाउने बेला कुनै माटो परीक्षण भएन, विरुवा लिएर लगाइयो, अलिअलि दाना हाले पनि धेरै फलाउन सकिएन, प्राविधिक ज्ञान केही पनि थिएन, परम्परागत रूपमै लगाइएको थियो, अहिले अलि फरक तरिकाले लगाइएको छ, उत्पादन राम्रो होला ।’

उहाँले पहिले स्याउ लगाएको केही वर्षसम्म राम्रो भए पनि पछि रोग लाग्ने, सुक्ने र फल नै नदिने समस्या आएको सुनाउनुभयो । गाउँपालिकाको सहयोगमा स्याउ खेती विस्तार हुँदा यहाँका कृषकहरू उत्साहित भएको घर्तीमगर बताउनुहुन्छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार यहाँ स्याउ खेती विस्तार गर्न थालेको बताउनुभयो । उहाँले स्याउका विरुवा लगाउन थालेपछि कृषक निकै उत्साहित भएको बताउनुभयो । यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका विरुवा लगाइने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको उहाँको भनाइ छ । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको उहाँले बताउनुभयो । ‘गाउँपालिकाले जुन क्षेत्रमा स्याउ लगाउन थालेको छ, ती सबै क्षेत्र सम्भावना भएका ठाउँ हुन्, यी ठाउँहरूमध्ये केही ठाउँमा पहिले पनि स्याउ लगाइएको थियो तर राम्रो भएन,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो, ‘यस वर्ष राम्रो हुने आशा गरेका छौँ, किनकि प्राविधिक रूपमै अनुसन्धान गरेर स्याउका विरुवा रोप्न थालेका छौँ ।’

स्याउ खेती विस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । उहाँले युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरी उत्पादनसँग जोड्नका लागि स्याउ खेतीमा जोड दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले दैनिकजसो युवाहरू विदेश गइरहेका छन्, यहाँ यति ठूलो सम्भावना छ तर चिन्न नसक्दा विदेशिनुपरेको छ, गाउँका धेरै जग्गाहरू बाँझिदै गए, अब यी सबैलाई उत्पादनसँग जोड्ने युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो अभियान छ, स्याउ खेतीले पनि यो अभियानलाई सार्थक बनाउनेछ ।’
निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख ताराबहादुर परियारले दर्ता भएका कृषि फर्म तथा समूहलाई विरुवा प्रदान गरेको बताउनुभयो । उहाँ वडा नम्बर ५ र ६ का ४५ समूहलाई ४५० स्याउका विरुवा दिएको बताउनुहुन्छ । माटो परीक्षण गरेर यहाँको हावापानी र वातावरण अनुकूल हुने फुजी जातको स्याउ यहाँ लगाउन थालिएको परियारको भनाइ छ ।

पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको उहाँ बताउनुहुन्छ । निसीखोलामा दुई हजारदेखि चार हजार उचाइसम्म स्याउका विरुवा लगाइने उहाँको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने सीप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् । कृषि शाखा प्रमुख परियार भन्नुहुन्छ, ‘यहाँको भूगोल, स्याउका लागि चाहिने वातावरण, हावापानीका बारेमा अध्ययन गरेर फुजी जातको स्याउ लगाउन थालेका हौँ, उचाइ मिलाएर स्याउ लगाउन थालिएको हुँदा उत्पादन राम्रो दिन्छ भन्ने लागेको छ ।’

परियारले सुरुमा स्याउ खेतीका बारेमा कृषकलाई तालिम दिएको र उनीहरूको मागअनुसार विभिन्न क्षेत्रमा स्याउ लगाउने योजना बनाएको बताउनुभयो । यस वर्ष गाउँपालिकाले स्याउ खेती गर्न चाहने कृषि समूहलाई निःशुल्क बिरुवा र आवश्यक सामग्री पनि उपलब्ध गराएको उहाँ बताउनुहुन्छ । ‘कृषकहरूले स्याउ लगाइसकेपछि समय-समयमा त्यसको निरीक्षण, परीक्षण र कृषकलाई आवश्यक तालिम तथा परामर्श पनि पालिकाले दिनेछ, त्योसँगै अन्य प्राविधिक सहयोग पनि पालिकाले निरन्तर दिँदै जानेछ,’ परियारले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?