एलपिएलमा लिग चरणका खेल सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लवार प्रिमियर लिग (एलपिएल) मा लिग चरणका खेल सम्पन्न भएका छन् । मंगलबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढीविरुद्ध सान्त्वना जित दर्ता गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै सात विकेटको क्षतिमा ११६ रन बनायो । शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाउनुभयो । गोविन्द बिष्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाउनुभयो ।
सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले दुई-दुई विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिष्टले एक-एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनायो । सैनिकका ओपनिङ ब्याटर सन्दीप बिष्टले सर्वाधिक ५९ रन बनाउनुभयो जुन क्रममा उहाँले ४५ बलमा आठ चौका प्रहार गर्नुभयो । उहाँ प्लेयर अफ द म्याच घोषित हुनुभयो । विशाल ऐरले २३ रन बनाउनुभयो ।

नागराज सिंह, अशोक धामी र आयुष खड्काले दुई-दुई विकेट लिनुभयो । प्रतियोगिताअन्तर्गत दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् । पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबीच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बालवाटिका बौनियाबीच हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई दुई लाख ५१ हजार १११ र उपविजेतालाई एक लाख २५ हजार ५२५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०-१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?