युनाइटेड गोल्डकप हुने

हिमालय टाइम्स
Read Time = 3 mins

त्रिवेणी (नवलपरासी) । नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताउनुभयो । युनाइटेड युवा क्लबले नियमित सञ्चालन गर्दै आएको सो प्रतियोगितालाई जिल्लाकै गौरवको प्रतियोगिताका रूपमा लिने गरिएको छ । यस वर्ष भदौ २२ देखि ३७औँ संस्करण हुप्सेकोट-३ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित ३७औँ संस्करणको तयारीमा जुटेका छौँ, करिब हाम्रो तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक सारुले बताउनुभयो ।

प्रतियोगितामा विजेता हुने टोलीले दुई लाख २५ हजार ५५५ र उपविजेताले एक लाख ३५ हजार पाँच ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सेमिफाइनलमा पुगेर बाहिरिने दुई टोलीले जनही २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष हरि थापाले जानकारी गराउनुभयो ।

प्रतियोगितामा नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, चितवन, काठमाडौंलगायत जिल्लाका गरी करिब एक दर्जन क्लबको सहभागिता रहने र सहभागी क्लबले एउटा टोलीमा बढीमा तीनजनामात्रै विदेशी खेलाडी समावेश गर्न पाउने अध्यक्ष थापाले बताउनुभयो । यसअघि एउटै टोलीमा धेरै विदेशी खेलाडी समावेश गराउने गरिएकामा यस वर्ष तीनजनामात्रै एउटा क्लबले विदेशी खेलाडी सहभागी गराउन पाउने नियम बनाइएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?