कुशलको शतकमा नेपालको ऐतिहासिक जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियामाथि दुई विकेटको जित हात पारेको छ । २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । जुन ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । नेपालले यसअघि यस संरचनामा २०१९ मा युएईविरुद्ध २४४ रनको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ११३ बलमा १० चौका र चार छक्कासहित ११५ रनको योगदान गर्नुभयो । कुशल जितका लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुनुभएको थियो । यस्तै, करण केसीले १२ बलमा एक चौका र दुई छक्कासहित २० रनसहित नेपाललाई जित दिलाउनुभयो ।
कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गर्नुभएको हो । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उहाँ चौथो खेलाडी बन्नुभएको छ । यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरिसक्नुभएको छ ।

त्यसअघि कप्तान रोहित पौडेलले ७६ बलमा सात चौका र तीन छक्कासहित ७२ रनको पारी खेल्दै नेपाललाई अघि बढाउनुभएको थियो । तेस्रो विकेटका लागि रोहित र कुशलले १३३ रनको शतकीय साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भएको हो ।

ज्ञानेन्द्र मल्ल २५ रनमा आउट हुनुभयो । यस्तै, कुशल मल्ल ६ रनमा ट्रम्पलम्यानबाट बोल्ड हुनुभयो । सन्दीप जोराले २४ बलमा तीन चौका र एक छक्कासहित २८ रन जोड्नुभयो । दीपेन्द्रसिंह ऐरी सात रनमा पवेलियन फर्कनुभयो । नामिबियाका रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चेर तीन तथा जेन निकोलले ५.४ ओभरमा ५४ रन खर्चेर तीन विकेट हात पार्नुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नामिबियाका माइकल भान लिंगेनले १३७ बलमा नौ चौका र पाँच छक्कासहित १३३ रनको शतकीय पारी खेल्नुभएको थियो । त्यसबाहेक कप्तान जेरार्ड इरास्मस ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६, लो हृयान्डरे लरेन्स पाँच, कार्ल ब्रिकेनस्टक १३ रनमा आउट हुनुभयो ।

नेपालका लागि करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन खर्चेर पाँच विकेट लिनुभयो । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर तीन विकेट लिनुभयो । त्यसबाहेक सोमपाल कामीले नौ ओभरमा एक मेडनसहित ५६ रन खर्चेर एक विकेट लिनुभयो ।

नेपालले अब दोस्रो खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा नौमा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?