काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता खेमराज सेढाईंले पार्टी परित्याग गर्नुभएको छ । कांग्रेस परम्परागत मौलिक सिद्धान्त र विचारको मार्ग छाडेर पतनको बाटोमा अगाडि बढेको भन्दै उहाँले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
प्रजातात्विक बाटोबाट नेपालको राष्ट्रियता र हाम्रा परम्परागत मौलिक नेपाली सनातन धर्म-संस्कृतिको संरक्षण गर्दै देश र जनताको पक्षमा दृढतापूर्वक उभिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । ‘केही थान मन्त्री र राष्ट्रपति पदका लागि माओवादीसँग गला जोडेर बस्ने परम्परागत मौलिक सिद्धान्त र विचारको मार्गमा देशको राष्ट्रिय प्रजातन्त्रको आन्दोलनको नेतृत्व गर्दछ भन्ने कुरामा मेरो विश्वास पूरै टुटेको छ,’ बुधबार सेढाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब कांग्रेसले यही अवस्थामा देशको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न सक्दैन । कांग्रेस पतनको बाटोमा अगाडि बढेको गम्भीर अवस्थामा कांग्रेसकै कार्यकर्ता भएर बसिरहनुको औचित्य देखिनँ । इतिहासको त्यो गौरवशाली तर वर्तमानको विचारशून्य र दिशाहीन नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी भारी मन लिएर नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’
यस्तो गम्भीर अवस्थामा आम कांग्रेसजनले पार्टीको स्वार्थ र विचारभन्दा माथि उभिएर देशको स्वार्थमा सोच्ने बेला आएको उहाँको भनाइ छ । कांग्रेसीजनले मात्र होइन आम देशवासीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रका लागि आफ्नो अन्तरआत्माले निर्णय गर्ने बेला आएको उहाँको आहृवान छ ।
पार्टीले तत्कालीन सात राजनीतिक दलहरूसँग मिलेर सिद्धान्तहीन तवरमा सशस्त्र द्वन्द्व गरिरहेको अतिवादी कम्युनिष्ट पार्टी नेकपा (माओवादी) सँग दिल्लीमा गएर सम्झौता गरेर नेपाली कांग्रेसले ऐतिहासिक भूल गरेको उहाँको ठहर छ । शान्ति प्रक्रिया र कथित लोकतान्त्रिक आन्दोलनको नाममा कांग्रेसले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलाप नीतिविपरीत गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतलाई आफ्नो प्रमुख विचार र सिद्धान्त मानेपछि राष्ट्रिय राजनीतिबाट कांग्रेस विस्तारै असान्दर्भिक बन्दै गएको उहाँको भनाइ छ । त्यसैको परिणाम देशमा वामपन्थी शक्ति बलियो बन्दै गएको र संसद्मा सबैभन्दा ठूलो पार्टी भएर पनि एउटा राष्ट्रपति पदका लागि प्रचण्डका अगाडि याचना गर्नुपर्ने निरीह अवस्थामा कांग्रेस पुगेको उहाँको टिप्पणी छ ।
‘कांग्रेसका नेतालाई सिद्धान्त, विचार, निष्ठा र आदर्श भन्ने कुराको पर्याय हुन छाड्यो । सिद्धान्त छोडेर सत्ताको लागि जोसुकैसँग जे पनि सम्झौता गर्न पछि हटेनन्,’ विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘सिद्धान्तलाई कुनै मतलव नराखी चुनावमा माओवादीसँग गला जोड्नु भनेको कांग्रेस पतनको बाटोमा जानु हो । प्रतिपक्षमा बसेर पनि संसदीय पद्धतिको सिद्धान्तविपरीत सत्ता पक्षलाई समर्थन गर्न पुगेको छ ।’ प्रचण्डले मन्त्रिपरिषद्बाट कथित जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक बिदा घोषणा गर्दासमेत सत्ताको स्वार्थका कारण कांग्रेसले विरोध गर्न नसकेको भन्दै उहाँले विरोध जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच