कान्साको जलवायु सम्बन्धी तीन वर्षे रणनीति तयार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालमा जलवायु तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरूले जलवायु परिवर्तन हुँदा पर्ने असरहरूलाई मध्यनजर गर्दै तीनवर्षे रणनीति तथा सो रणनीति कार्यान्वयन गर्नका लागि रणनीतिक सञ्चालन योजना पनि तयार पारेका छन् । जलवायु परिवर्तनका कारण त्यसबाट हुने असरबाट बच्नका लागि नेपालमा आ-आफ्नो क्षेत्रबाट के-कस्ता काम गर्न सकिन्छ भन्ने योजना सहितको सो रणनीति क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को अगुवाईमा तयार पारिएको हो ।

कान्साले राजधानीमा एक कार्यक्रमको आयोजना गरी कान्साको राष्ट्रिय तदर्थ समितिको सन् २०२३ देखि २०२५ सम्मको सो रणनीति नेपालका आफ्ना सदस्य संस्थाबीच सार्वजनिक गर्दै नेपाल यो तीन वर्षभित्रमा के कसरी काम गर्न सकिन्छ भनेर जानकारी दिएको थियो ।
कार्यक्रममा प्रज्ञा सिड्स नेपालका अध्यक्ष तथा कान्साको राष्ट्रिय तदर्थ समिति (२०२२-२०२५) का प्रमुख प्रणय श्रेष्ठले एक प्रश्तुतीकरण गर्नु हुँदै कान्साको यस तीन वर्षको नेपालका लागि मुख्य तीनवटा रणनीतिक योजना रहेको बताउनुभयो । जसमा सञ्जालको सवलीकरण तथा क्षमता अभिवृद्धि, पैरवी तथा नितिमा प्रभाव र जलवायुसम्बन्धी ज्ञानपुस्ता तयार र सो को व्यवस्थापन गर्ने रहेका छन् ।

कार्यक्रममा उपस्थित सहभागीले नेपाल जलवायु परिवर्तनका कारण पर्ने असरबाट सधैं नै उच्च जोखिममा रहेकाले जलवायु परिवर्तनका विषयमा सबैलाई संवेदनशील हुन आग्रह गर्दै यसबाट पर्न सक्ने खतराबाट सबैलाई असर पर्ने र त्यसमा पनि बालबालिका, अपांगता भएका व्यक्ति, महिला, गर्भवती, ज्येष्ठ नागरिकलगायत संकटासन्न समूहहरू अझ बढी जोखिममा पर्ने हुनाले उनीहरू सबैलाई त्यस्ता विपत्तबाट जोगाउन नागरिक समाजका सबै संघसंस्था एकजुट भएर हातेमालो गर्दै अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा कान्साका नेपालस्थित सदस्य संस्थामध्ये प्रज्ञा सिड्स नेपाल, क्लिन इनर्जी नेपाल, मर्सिकोर, नेपाल वाटर कन्जरभेसन फाउण्डेशन, कर्णाली इन्ट्रिग्रेटेड रूलर डेभलेपमेन्ट एण्ड रिसर्च सेन्टर, प्राक्टिकल एक्सन, रिसोर्स हिमालय फाउण्डेसन, प्रकृति स्रोत केन्द्र, ग्रामीण प्रविधि केन्द्र नेपाल, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था नेपाल र सिबिएम ग्लोबल नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रमलाई एकबद्धता जनाउन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव यमनाथ पोख्रेलको सहभागिता थियो । यसैगरी कार्यक्रममा कान्साका सचिवालयका कार्यक्रम व्यवस्थापक रूचि चौधरीको समेत उपस्थिति थियो र सचिवालय निर्देशक सञ्जय वशिष्टले अनलाइनमार्फत सहभागिता जनाउनु भएको थियो ।

कान्सा दक्षिण एशियाका आठवटा राष्ट्रहरूका ३ सय वटाभन्दा बढी नागरिक समाजका संघसंस्थाको सदस्यता रहेको जलवायुसम्बन्धी काम गर्ने एक ठूलो सञ्जाल हो । कान्साको राष्ट्रिय तदर्थ समिति नेपालमा जलवायुसम्बन्धी काम गर्ने विज्ञहरूको अगुवाइमा सन् २०१०मा स्थापना भएको हो । जसमा २६ वटा संघसंस्थाको आबद्धता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?