संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

पृथ्वीजयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । सरकारले संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधेयक यही १० गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर–६, बेथानचोक –२, लिखु –४, रघुगंगा –२, तातोपानी –४, रिद्धिकोट– ३, रुरु क्षेत्र –४ र अपि हिमाल –४ गरी जम्मा आठवटा स्थानमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिने, बर्डफ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएको वस्तुहरूको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने निर्णय भएको उहाँले जनाउनुभयो । सरकारले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो । २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आउँदो भदौसम्ममा सक्ने उहाँले बताउनुभयो । साथै मन्त्रिपरिषद्ले बिदा व्यवस्थित गर्ने निर्णय गरेको पनि जानकारी पनि मन्त्री शर्माले दिनुभयो ।

उहाँका अनुसार सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साबिक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साबिक सिद्धिवास गाविस–८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै, ललितपुर जिल्ला साबिक लुभु वडा नम्बर ३ को दुई÷दुई रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, काठमाडौं जिल्ला साबिक थानकोट गाविस वडा नम्बर २ को २३ हजार रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

प्रवक्ता शर्माले सरकारले नेपाल इञ्जिनियरिङ परिषद् अध्यक्ष पदमा इञ्जिनियर डा. पदमबहादुर साही, उपाध्यक्षमा इञ्जिनियर डा. विकास अधिकारी र सदस्यमा इञ्जिनियर डा. रेश्मा श्रेष्ठलाई मनोनयन गरेको बताउनुभयो । त्यस्तै, सरकारले २०७९ फागुन ११ देखि १२ सम्म स्विट्जरल्याण्डमा हुने पाचौँ ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?