प्रिन्स र जेशिका फाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिंग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकलतर्फ फाइनलमा प्रवेश गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१-९, २१-१७ ले पराजित गर्दै फाइनल यात्रा तय गर्नुभएको हो । अब उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रफुलले पुलिसका विष्णु कटुवाललाई २१-१८, २१-७ ले पराजित गर्नुभएको थियो । यस्तै, महिला शीर्ष १२ वरीयतामा एपिएफकी जेशिका गुरुङले पुनः एकपटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाइनल प्रवेश गर्नुभएको छ ।

जेशिकाले आर्मीकी रसिलालाई १४-२१, २१-१६, २१-१२ ले पराजित गर्दै फाइनलमा आर्मीकी अनुमाया राईसँगको भेट पक्का गर्नुभएको हो । अनुले फाइनल प्रवेश गर्नेक्रममा आर्मीकै प्रार्थना देउवालाई २१-१२, २१-११ ले पराजित गर्नुभएको हो ।

पुरुषको शीर्ष १६ वरीयतादेखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा उपाधि नजिक पुग्नुभएको छ । पविनले आर्मीकै हिमाल चन्दलाई २१-१९, १३-२१, २१-१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१-१८, १७-२१, २१-६ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्नुभएको हो ।

महिला शीर्ष १२ देखि बाहेकको एकलतर्फको खेलमा आर्मीकी विष्णा विष्टले पाँचथरकी रिना तामाङलाई २१-१५, २१-१३ ले पराजित गर्दै फाइनल प्रवेश गर्नुभएको छ । अब उपाधिका लागि विष्णाले झापाकी अञ्जना राईसँग प्रतिस्पर्धा गर्नुहुनेछ । राईले आर्मीकी टिशा रानी शाक्यलाई २१-६, २१-१३ ले पराजित गर्दै उपाधि निकट पुग्नुभएको छ ।

पुरुष यू-१७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउद र आर्मीका अनिल मल्लबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो । रोशनले आर्मीका कविर केसीलाई २१-१३, १९-२१, २१-१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१-१५, २१-१५ ले पराजित गर्दै फाइनल यात्रा तय गर्नुभएको हो ।

महिला यू-१७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१-१४, २१-१३ ले पराजित गर्दै उपाधिका लागि आर्मीकी टिशा रानी शाक्यसँगको भेट पक्का गर्नुभएको हो । शाक्यले ताप्लेजुङकी नुमा लिम्बूलाई २१-१९, २१-११ ले पराजित गर्दै फाइनल प्रवेश गर्नुभएको हो ।

पुरुष युगलतर्फको खेलमा एपिएफका विजित थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाइनल प्रवेश गर्नुभयो । मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५-२१, २१-१९, २१-१३ ले पराजित गर्दै उपाधिका लागि पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालसँगको भेट पक्का गर्नुभयो । कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१-१०, २१-१८ ले पराजित गर्दै उपाधि निकट पुग्नुभएको हो ।

महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी फाइनल प्रवेश गरेको छ । आर्मीकी रशिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी विष्णा विष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भएपश्चात् शोभा र निताले स्वतः फाइनल यात्रा तय गर्नुभएको थियो । अमिता गिरी र निलिमा महरा खेलका दौरान खुट्टामा चोट बोक्न पुगेका कारण खेल खेल्न असमर्थ हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?