पाल्पाली साहित्यकार रेग्मीका जुम्ल्याहा कृति विमोचन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । शीत काव्यका परिकल्पनाकार तथा पाल्पाली साहित्यकार पुस्कर अथक रेग्मीका जुम्ल्याहा कृति विमोचन भएका छन् ।

काठमाडौंमा एक भव्य समारोहकाबिच उहाँका शीत बालकथा ‘अर्ती’ र षडऋतु बालकाव्य संग्रह ‘अक्षमाला’ विमोचन गरिएको हो ।

शीत काव्य समाज बागमती प्रदेश र षडऋतु काव्य समाज नेपालको आयोजनामा कृति विमोचन गरिएको हो । कृतिको टोखा नगरपालिका–११ का निवर्तमान वडा अध्यक्ष उत्तम अधिकारीले विमोचन गर्नुभएको थियो । कृतिको विमोचन गर्दै प्रमुख अतिथि समेत रहनुुभएका अधिकारीले कृतिहरू बालबालिकाका लागि उपयोगी र सहयोगी शैक्षिक सामग्रीको रूपमा रहेको बताउनुुभयो । दुवै कृतिमाथि समीक्षा गर्दै पण्डित/पुराण वाचक/साहित्यकार/समीक्षक नारायणचार्य कौशिकले शीत कृति अर्तीभित्र चारवटा शीत कथा रहेको र षडऋतु कृति अक्षमालाभित्र २५ वटा बाल षड्रितुहरू रहेकामा दुवै कृति बाल पाठ्यसामग्रीको रूपमा रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले गद्य र पद्य दुवै शैलीले कृति पृथक रूपमा रहेको र शैक्षिक, सामाजिक र आध्यात्मिक महत्व समेत कृतिमा उजागर भएको बताउनुुभयो । लेखक रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका एक दर्जन बढी कृतिहरु प्रकाशित गरिसक्नुुभएको छ, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित हुुनुुभएको छ ।

साहित्यकार रेग्मीले यस अघि अफसोच, अनुसन्धान अवलोकन, अठार लघुकथा संग्रह, अग्रदूत, अनुसन्धान सिद्धान्त, आमा, अमृताञ्जली, अन्तराल, अन्ततः, अनुरोध, अलग बाटो, अक्षता, शित, अलिकति लगायतका कृतिहरु प्रकाशित गरिसक्नुुभएको छ । उहाँ नेपाली भाषा, कला, साहित्य र साँस्कृतिक क्षेत्र, शैक्षिक क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आउनुुभएको छ । तानसेन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख समेत रहनुुभएको साहित्यकार रेग्मी जिल्लाका विभिन्न समाजिक संघ संस्थाहरुमा पनि क्रियाशील छन् । कृति विमोचपछि हिटासँगको कुराकानीमा रेग्मीले अगामी दिनमा पनि पाठकहरुको रुची र आवश्यकता अनुसार कृतिहरु प्रकाशित गर्दै जाने बताएका छन् ।

शीत काव्य समाज बागमती प्रदेशले रेग्मीलाई सम्मान समेत गरेको छ । साहित्यको चारवटै विधामा कृति प्रकाशित गरी कविता साहित्यमा लघुतम उपविधा शीतको परिकल्पना सहित शीत बालकथा प्रकाशन गर्नुभएका उहाँलाई प्रदेशले सम्मान गरेको हो । शीत काव्यको परिकल्पना भएपछि छिटो भन्दा छिटो यसको व्यापिकरण भएकोमा आफू निकै नै गौरवान्वित भएको भन्दै साहित्यकार रेग्मीले पाल्पाको साहित्य र ऐतिहासिक योगदानको समेत प्रसंग उठान गर्नुभयो ।

अथकको कृति विमोचन र विमर्शसँगै साहित्यकार देवेन्द्रराज शाक्यदारा लिखित षडऋतु काव्य गोधुलीको समेत समीक्षक तथा विमर्श गरिएको छ । उक्त कृतिको शान्ता शाक्यद्वारा विमर्श गरिएको थियोे । कार्यक्रममा षडऋतु परिकल्पनाकार सीबिका, छेस्काका परिकल्पनाकार बिनोद नेपाल, साहित्यकार चन्द्रा न्यौपाने लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?