कोहलपुरमा बजेट खर्च निरासाजनक

हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्ष २०७९/०८० को पौष मसान्तसम्मको बजेट खर्च निरासाजनक छ । कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न वडा र १५ वटै वडामा बजेट खर्च निरासाजनक देखिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को पौष मसान्तसम्म विभिन्न विभिन्न शाखा,उपशाखा एवं वडा तर्फको योजना तथा कार्यक्रमको प्रगती विवरण हेर्दा उल्लेख्य मात्रामा बजेट खर्च भएको देखिदैन ।

चालू आ.व.को मध्यतिर आइपुग्दा बजेट खर्च ५० प्रतिशत भन्दा कम छ । नगर कार्यपालिका अन्तर्गत १२ वटा शाखा तथा इकाइ र १५ वटा वडाको कूल प्रगती विवरण हेर्दा जम्मा ३७.९० प्रतिशत बजेट खर्च भएको छ । चालू आ.व.को अन्तिम चौमासिकमा नगरपालिकाले कूल ६२.१० प्रतिशत बजेट खर्च गर्न बाँकी छ ।

नगर कार्यपालिका अन्तर्गत १२ वटा शाखा तथा इकाइमध्ये सबै भन्दा बढी पशु सेवा केन्द्रले ४६ प्रतिशत बजेट खर्च गरेको भने सबै भन्दा कम कानून इकाइले ५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । पशु सेवा शाखामा स्वीकृत कार्यक्रम सख्या १२ वटा थियो । ती मध्ये केन्द्र पौष समान्तसम्म २ वटा कार्यक्रम सम्पन्न गरेको छ । ४ वटा कार्यक्रममा सञ्चालनको क्रममा रहेका छन् । अब ६ वटा कार्यक्रम सञ्चालन हुन बाँकी छ । कूल विनियोजित ५० लाख रुपैयाँमध्ये २३ लाख ४१ हजार ७ सय रुपैयाँ खर्च हुँदा खर्च गर्न बाँकी रकम २६ लाख ५८ हजार ३ सय रुपैयाँ रहेको छ । कानून इकाइतर्फ जम्मा एउटा मात्रै कार्यक्रम स्वीकृत थियो ।

कोहलपुर नगरपालिकाले दिएको जानकारी अनुसार शिक्षा युवा तथा खेलकूद शाखाले ४४ प्रतिशत, पालिका अन्तर्गत योजना तथा अनुगमन शाखाले ३७ प्रतिशत, कोहलपुर आयुर्वेदले ३१.४६ र आर्थिक प्रशासन शाखाले ३१.३७ प्रतिशत बजेट खर्च गरेका छन् । महिला बालबालिका तथा समाज कल्याण शाखाको बजेट खर्च प्रतिशत २९.१९ प्रतिशत रहेको छ । वातावरण तथा विपद् इकाइले २०.१३ र सामाजिक विकास शाखाले जम्मा २०.३ प्रतिशत बजेट खर्च गरेका छन् । वडागत योजनाको बजेट खर्च १९.९१ प्रतिशत, कृषि विकास शाखाको १८.१२ प्र्रतिशत,स्वास्थ्य शाखाले १२.७८ र आर्थिक विकास शाखाले १२.५० प्रतिशत मात्रै बजेट खर्च गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?