गठबन्धन बाहिरबाट राष्ट्रपति खोजे गठबन्धन नै तोडिन्छ, एमालेले अर्को पासा फाल्छ : सचिव अर्याल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गर्नुभएको छ । गठबन्धनबाटै राष्ट्रपति बनाउने सहमति तोडिए अहिलेको समीकरणमा धेरै क्षति हुने उहाँले बताउनु भयो ।

एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार म्याग्दी आउनु भएको एमालेकाे गण्डकी प्रदेशकी इन्चार्ज समेत रहनुभएको अर्यालले सत्ता गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन तोडिने बताउनु भएकाे हाे ।

‘सत्ता गठबन्धन तोडिएपछि हुने क्षति प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ,‘अहिले नेकपा माओवादीले नै गठबन्धन तोड्ने जोखिम मोल्न सक्ने अवस्थामा छैन’अर्यालले भन्नुभयो । राष्ट्रपतिको सहमति तोडिएमा धेरै सहमतिहरु तोडिने भएकाले गठबन्धकै साझा उम्मेदवारमै सहमति खोजिने उहाँको भनाइ थियो । राष्ट्रपतिको सहमतिमा परिवर्तन आए संघीय सरकार, प्रदेश सहित धेरै सहमतिका बाटो बन्द हुने संकेत अर्यालले गर्नुभयो ।
सञ्चारमाध्यम र बाहिर आएजस्तो अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको समेत उहाँको दावी थियो ।
‘अहिलेको गठबन्धनबाट राष्ट्रपति नबनेमा धेरै गुम्ने अवस्था छ,‘विकल्पका बारेमा छलफल हुन्छ, गठबन्धनभित्रबाटै सबै समस्याको समाधान हुन्छ’ अर्यालले भन्नुभयो ।

उहाँले गठबन्धन बाहिरबाट राष्ट्रपतिको उम्मेदवार खोजेमा नेकपा एमालेले अर्को पासा फाल्ने समेत ठोकुवा गर्नुभयो । प्रतिनिधिसभा अगाडिको गठबन्धन तोड्न सफल भएकाले अव पनि सहमति बाहिर गतिविधि भए नयाँ समीकरण बन्न सक्ने अर्यालको भनाइ थियो ।
गठबन्धनभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएकाले भविष्यमा हुने दुर्घटना रोक्नका लागि नेकपा एमालेले रोजेको ब्यक्तिलाई नै राष्ट्रपति बनाउने सम्भावना बढी रहेको उहाँले बताउनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन अन्तिम पूरा हुँदैछ । २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?