भारत महिला विश्वकपको सेमिफाइनलमा

Read Time = 2 mins

नयाँदिल्ली । भारतले दक्षिण अफ्रिकामा जारी आठौँ संस्करणको महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्याण्डलाई डिएलएस मेथडमा ५ रनले पराजित गर्दै भारत अन्तिम चारमा प्रवेश गरेको हो ।

भारतले दिएको १५६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ८.२ ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो । वर्षा निरन्तर भएपछि खेलको निर्णय डिएलएस मेथडका आधारमा लिइएको हो ।

आयरल्याण्डका लागि गाबी लुइस ३२ रनमा अविजित रहँदा कप्तान लाउरी डिलेनी १७ रनमा अविजित हुनुभयो । भारतका लागि रेनुका सिंहले एक विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । भारतका लागि स्कृति मान्धनाले ५६ बलमा नौ चौका र तीन छक्काको सहयोगमा ८७ रन बनाउनुभयो । शफाली बर्माले २४ रन बनाउँदा जिमिनि राड्रिगेजले १९ रन बनाउनुभयो ।

आयरल्याण्डका लागि कप्तान लाउरी डिलेनीले तीन तथा ओर्ला प्रिनिर्गास्टले दुई विकेट लिनुभयो । समूह ‘बी’ बाट इंग्ल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको थियो । समूहको विजेता र उपविजेताको टुंगो भने आजको इंग्ल्याण्ड र पाकिस्तानको खेलपछि लाग्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?