डा.रुइतलाई १४ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय पुरस्कार

रुइत संसारकै लागि उदाहरण- बहराइन नरेश

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई १४ करोड रुपैयाँ बराबरको ‘इसा अवार्ड’ प्रदान गरिएको छ । डा. रुइतलाई ‘मानवताका लागि सेवा’ गरेबापत बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इसा अवार्ड प्रदान गर्नुभएको हो । डा. रुइतलाई मंगलबार बहराइनको राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले एक मिलियन डलर राशि (झण्डै १४ करोड रुपैयाँ) को पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

समारोहमा राजा खालिफाले डा. रुइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । यस्तै, इसा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताउनुभयो । आफना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै व्यक्ति÷संस्थालाई प्रदान गरिँदै आएको छ ।

डा.रुइतलाई ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । समारोहमा बहराइन सरकारका मन्त्रीहरू तथा र विशिष्ट आगन्तुकगणको उपस्थिति थियो । यस्तै, बहराइनस्थित राजदूत तीर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति थियो ।

यो अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरू छनोटमा परेका थिए । जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्था/व्यक्ति छनोट गरेको थियो । अमेरिकास्थित मर्सी सिप, बंगालादेशको फ्रेन्डससिप एनजिओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विटजरल्याण्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउण्डेसन र नेपालका डा. सन्दुक रुइत पाँच जनाभित्र पर्नुभएको थियो । उनीहरू सबैको विषयमा अध्ययन र उनीहरूको कामका विषयमा अध्ययन गरिसकेपछि डा. रुइतलाई अवार्ड दिने निर्णय गरिएको थियो ।

इसा अवार्ड पहिलोपटक मलेसियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाउनुभएको थियो । दोस्रो अवार्ड(२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउण्डेसनलाई प्रदान गरिएको थियो । सन् २००९ मा स्थापना भएको हो यो अवार्ड वितरण भने सन् २०१३ देखि सुरु भएको हो ।

डा.रुइतले यसअघि प्रतिष्ठित म्यागासेसे पुरस्कार, भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार, अनररी अफिसर अफ द अर्डर अफ अष्ट्रेलिया रामोन लगायतका अन्तर्राष्ट्रिय अवार्ड पाइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?