पुस्तक : राजेश्वर देवकोटा स्मृति ग्रन्थ पाठकका नजरमा

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ सुरेशकुमार भट्ट

हाल अमेरिका

ऐतिहासिक गोरखा जिल्लाको ऐतिहासिक गोरखा राज्य निर्माणको प्रारम्भिक स्थल लिगलिग कोटको बोहरा गाउँको देवकोटा टोलमा संस्कृतका पण्डित परिवारमा नाम चलेका पण्डित हरिभक्त देवकोटाका प्रथम सुपुत्रका रूपमा विसं १९८६ आश्विन २३ गते माता वसुन्धराका कोखबाट राजेश्वरको जन्म भएको थियो । जन्मदैमा आचार्यस्तरको पढाइ गराउने धोकोका कुरा पिताजी पं.हरिभक्तले बताउनु भएको थियो । लिगलिग देवकोटा गाउँका कुलदीपक कट्टर राष्ट्रवादी बहुआयामिक राष्ट्रिय व्यक्तित्व राजेश्वर देवकोटा गोरखाका मात्र नभएर राष्ट्रकै गौरव हुन् ।

उनका बाहिर देखिने भौतिक शरीर सानोकद सधैं दुब्लो शरीर तर विशाल सोच बौद्धिक भकारी बरू एकलै हिँड्ने आफ्नो बाटो नछोड्ने अटल अविचलित र दृढनिश्चयी थिए । २००४ सालमा ‘जयतु संस्कृतम्’ अभियानबाट सशक्त रूपमा उदाएका मान्छे हेर्दा बचरो तर बुद्धि र हिम्मतको चुचुरो । वनारसमा कांग्रेसका बालचन्द्र शर्मा, नरेन्द्र रेग्मीसँगै कार्यालय सचिव भई काम गर्नु भएको र नेपाली कांग्रेसको २००७ सालको जनक्रान्तिमा गोरखाको अगुवा मोर्चा सम्हालेका देवकोटा २०१५ सालको पहिलो आमचुनावको दौरानसँगै कांग्रेससँग रहन सकेनन् संसदको चुनावमा उम्मेदवार बनेर पनि विजय हुन सकेनन् ।

राजा महेन्द्रको निधनपछि नयाँ राजा वीरेन्द्रले उनलाई न चिने न चिनेर केही दिने सोचमै गए । यो राजेश्वरको पञ्चायत कालभरिको अवधिमा नितान्त असमन्जसको अवधि रहृयो तर उनीभित्रको राष्ट्रियताको भावना झन् गाढा र कठोर बन्दैगयो ।

तर पनि आफ्नो निर्णय र गतिमा अघि बढिरहे । अन्तरमुखी स्वभावका आफ्नो सोच र विवेकले ठम्याएका कुरा कसैको समर्थन र साथ नभए पनि प्रवाह नगरी गति दिइरहने अन्तरमुखी निर्णयले उनको जीवनमा कति उतारचढाव ल्याए पनि आफ्नै स्वभाव र अठोटमा रहे कहिल्यै बिचलित भएनन् । यो उनको महानता र अरूले बुझ्नै पर्ने विशेषता पनि हो । यस्तै परिस्थितिमा २०१७ पुस १ गते महेन्द्र राजाले दुई तिहाइको संसद भंग गरी जननिर्वाचित सरकार र तिनका नेतालाई कारवास धकेलिदिए र २०१७ साल पुस २२ गते देशवासीका नाममा शाही सम्बोधन गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गर्ने घोषणा गरी सारा दलहरूमाथि प्रतिबन्ध लगाएर राजाको नेतृत्वमा आउन आहृवान गरे ।

त्यही आहृवानलाई शिरोपर गरी राजेश्वर देवकोटा पनि पञ्चायततर्फ लागे र नजिक न टाढाको भएर ३० वर्ष बिताउँदा न नेपाल दरबारले टाढा जान दियो न त कहिल्यै काखमा राख्यो । महेन्द्र राजाको कालभरि नजिकै होइन नजिक नजिक राखे चिनेका पनि थिए राजाले राजेश्वर र राजेश्वरभित्रको राजेश्वरलाई राम्रैसँग, त्यसैले त बाघ त पाल्ने तर सिकार गर्न जान नदिने गरी राखेका थिए ।

राजा महेन्द्रको निधनपछि नयाँ राजा वीरेन्द्रले न चिने न चिनेर केही दिने सोचमै गए । यो राजेश्वरको पञ्चायत कालभरिको अवधिमा नितान्त असमन्जसको अवधि रहृयो तर उनीभित्रको राष्ट्रियताको भावना झन् गाढा र कठोर बन्दैगयो जसमा दरबार र राजालाई समेत पाँडे गाली गरेर घुमाएर भए पनि भनेरै छोड्थे तर चाकडीको भाषामा ठीक हो हजुर भनेनन् भन्दै भनेनन् जति कट्टर पञ्चहरूले उनका विरुद्ध जासुसी गरे पनि आफ्नो अन्तरयामी अठोट विवेकमा टसमस भएनन् यो नै उनको लागि राजनीतिक अवसर लिने नदिने कडीको कारण बन्नपुग्यो तापनि राष्ट्र रहे राष्ट्र चलाउने पद्धति जति फेरिए नि केही फरक पर्दैन भन्नेमै उनी अडिक रहे ।

यसरी जीवनचक्र चल्दै गर्दा आफूले आफैंलाई असफल राजनीतिज्ञका रूपमा लिने कट्टर राष्ट्रवादी देवकोटा सन्दर्भमा लेखिएको यो स्मृति ग्रन्थमा भित्र के छ र बाहिर केथियो र के छ भनेर सकी नसकी खोतल्ने यो सानो प्रयाशमात्र हो । पुस्तकभित्र के छ त्यो त पढेपछि पाठकले पाउँने कुरा हो । समीक्षकले त डाँफा हान्ने नै हो टुमटुम टिपेर । त्यसैले पंक्तिकारको पनि सादर अनुरोध छ पुस्तक पढिदिनुहोस् ।

यस पुस्तकको नाम हो ‘राजेश्वर देवकोटा स्मृतिग्रन्थ’ २५६६औं बुद्ध जयन्ती २०७९ मा प्रकाशित गरिएको हो । यो स्मृतिग्रन्थ ५७४ पेज भएको डिमाई साइजको पेपर कभर ट्रिपल कलरको छ र मूल्य ५५५ रुपैयाँ छ । हरि सांस्कृतिक केन्द्र गोरखा नपा–६ प्रकाशक रहेको यस ग्रन्थका प्रकाशन संयोजक केन्द्रका प्रमुख संरक्षक स्वयम इ. ईश्वरचन्द्र देवकोटा हुनुहुन्छ । यस विशाल स्मृति ग्रन्थको प्रधान सम्पादक तथा सम्पादनमा मुद्रक, लेखक, विश्लेषक तथा समीक्षक एवं विषय विशेषज्ञ अध्यापक केदारनाथ खनाल, अतिथि सम्पादक प्रा.डा.नारायणप्रसाद खनाल, सम्पादकहरूमा डा.टीकाराम आचार्य ‘आरुणि’ र लेखक तथा विश्लेषक विजयराज न्यौपाने हुनुहुन्छ । क्वालिटी प्रेस भनपा ९ बसपार्कमा मुद्रण गरिएको, शान्तिका अग्रदूत बुद्धको जन्मजयन्तीमा काठमाडौंमा लोकार्पण गरिएको हो ।

ग्रन्थको शुभकामनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विद्यावाचस्पति आचार्य पूर्णचन्द्रोपाध्याय ढुंगेल लेख्नुहुन्छ ‘महेन्द्र राजालाई पञ्चायती दर्शन, भूमिसुधार, गाउँ फर्क अभियान आदिमा राजेश्वरकै दुरदर्शी सोचको सहयोगले सफल बनाएको हो । तर, वीरेन्द्रले राजेश्वर जस्ता दार्शनिक राजनीतिज्ञ नचिन्नु नै पञ्चायत ढल्नु र राजसंस्थाकै अवसान हुने संकेत थियो । जुनसुकै कुरालाई उनले शास्त्रीय चिन्तनबाट हेर्ने गर्थे उनको चिन्तन बहुतै गहिरो थियो । राष्ट्र राष्ट्रियता देशभक्तिमा उनको गहिरो चिन्तन र श्रद्धा थियो ।’

इ.ईश्वरचन्द्र देवकोटा ओजपूर्ण पिताका सुयोग्य पुत्र तथा हरि सांस्कृतिक केन्द्रका प्रमुख संरक्षकबाट प्रकाशकीयमा लेख्नुहुन्छ ‘हजुरबुबा पं.हरिभक्त देवकोटाको नाममा गोरखा सदरमुकाममा गोरखा जिल्लाको साहित्य कला संगीतको विकास गर्ने उदेश्यले विसं २०४६ सालमा पिताश्री राजेश्वर देवकोटाले ‘हरि सांस्कृतिक केन्द्र गोरखा’ नाम दिई स्थापना गर्नु भएको हो ।

केन्द्र सञ्चालनार्थ उहाँले प्राप्त गर्नुभएको मदन पुरस्कार साझा पुरस्कारको पूरै रकम राखी अक्षय कोषको समेत व्यवस्था गरी सिर्जनात्मक गतिबिधिमा सक्रिय रहेको हालसम्ममा नौ कृति प्रकाशन गरेको छ साथै ३३ वर्षदेखि हरि सांस्कृतिक प्रतिभा पुरस्कारले प्रतिवर्ष स्रष्टा सम्मानित भइरहनु भएको छ ।’ मुर्धन्य साहित्यकार देवकोटासँगै हरि सांस्कृतिक केन्द्रले स्मरण गराइरहने हुनाले केन्द्रको गतिविधि स्मृतिको एउटा पाना पनि हो भन्ने ईश्वरजीको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । साथै उहाँ लेख्नुहुन्छ, ‘स्मृतिग्रन्थ बाहिर पनि पिताजीका सिर्जना छन् जुन संकलित र प्राकशित हुने पर्खाइमा छन् ।’

विद्वान साहित्यकार केदारनाथ खनालको प्रधान सम्पादकत्वमा सम्पादित यस राजेश्वर स्मृति ग्रन्थ र ग्रन्थले समेटेका बहुआयामिक व्यक्तित्व, राजनीतिज्ञ, वरिष्ठ साहित्यकार होचो कदको अग्लो व्यक्तित्वको समष्टिगत समीक्षाको रूपमा गरिएको प्रधान सम्पादक खनालको टिमले गरेको सम्पादनको सूक्ष्मरूपमा समग्र रूपरेखा यस सम्पादकीयमै पढ्न पाइन्छ । सम्पादनका क्रममा यस ग्रन्थलाई यसरी सम्पादित गरिएको छ :

१- यस स्मृतिग्रन्थलाई खण्डमा विभाजन गर्नुपूर्व उपकुलपतिको सुरुमै प्रकाशकीय अघि समर्मण गरिएकाले विषय सूचीको अघोषित शुभकामना वा भूमिका खण्डमा ग्रन्थनायकको मंगलाचरण राखी सूचीबद्ध गरिएको छ । प्रा.डा. ऋषिराम पोखरेलको भूमिकाका साथै यसको सम्पादनका क्रममा सात खण्डमा विभक्त गरिए तापनि शुभकामना र समष्टिगत रूपमा ग्रन्थनायक राजेश्वर देवकोटाको सम्पूर्ण जीवनी समेटिएको विद्वान समीक्षक विजयराज न्यौपानेको ३९ पृष्ठको साहित्यिक समलोचनाले सूक्ष्मदेखि स्थूलसम्मको संग्रह आफैंमा यस ग्रन्थभित्रको अर्को ग्रन्थ हो अर्थात् यो मृतिग्रन्थ पुराण हो भने त्यसको ‘राष्ट्रिय चिन्तन जगतका एक्ला बृहस्पति’ शीर्षक नै काफी छ ।

२- सात खण्डको पहिलो खण्ड जसलाई कविता खण्ड भनिएको छ । यस खण्डमा ६ वटा कविहरूको र एउटा ग्रन्थ नायकको कविता छ । चारवटा छन्दमा छन् भने दुईवटा स्वच्छन्दमा छन् साथै ग्रन्थ नायकको कवितासमेत सातवटा छन् । कविता खण्डका छन्दका कविहरूमा गोविन्दराज विनोदी, केदारनाथ खनाल, नारायण पोख्रेल, विजयराज न्यौपाने र स्वच्छन्दमा ग्रन्थ नायक स्वयमका दुई कविता छन् । त्यसैगरी कवि सुरेन्द्र देवकोटा र कवि सुशील नेपालका एक-एक कविता छन् ।

३- दोस्रो खण्ड-संस्मरण खण्ड हो यसमा ३८ वटा अविश्मरणीय स्मृतिका लेखहरू समेटिएका छन् । जसमा ग्रन्थ नायकका परिवारभित्रका भाइ डा.जगदीश्वर देवकोटा, छोरा इ.ईश्वरचन्द्र देवकोटा, बुहारी कमला देवकोटालगायत डा.दिनेशचन्द्र देवकोटा, डा.फडिन्द्रराज देवकोटा, माधव देवकोटा, रमेशचन्द्र देवकोटा, राजन देवकोटा, रामचन्द्र देवकोटा, वाचस्पति देवकोटा, सुभाषचन्द्र देवकोटा देवकोटा परिवारकै हुनुहुन्छ भने कुटुम्बहरूमा गीता रेग्मी, अमरराज कैनी, नगेन्द्र न्यौपानेलगायत हुनुहुन्छ ।

अन्य विद्वान लेखकहरूमा डा.ऋषि बस्ताकोटी, केशव अधिकारी, तुलसी न्यौपाने, दिनार रनादी, दीपकबाबु अर्याल, दीनबन्धु अर्याल, डा.नवराज कट्टेल, निलम कार्की ‘निहारिका’ माधव खनाल, रविकिरण निर्जीव, राजेन्द्रप्रसाद अर्याल, रामचन्द्र आचार्य, रामशरण अर्याल, विष्णु प्रभात, शम्भुप्रसाद सापकोटा ‘अखण्ड’, शरदचन्द्र सिंखडा, प्रा.शिवहरि मरहट्टा, लोककवि सुरेशकुमार भट्ट, हरिप्रसाद सोडारी, डा.हरिहर भट्टराई हुनुहुन्छ । त्यसैगरी ग्रन्थनायक राजनीतिज्ञका समकालीन नेता लेखकहरूमा चन्दा शाह, बालाराम घर्तीमगर, भद्राकुमारी घले, मोहनलाल श्रेष्ठले उहाँको राजनीतिक छवि र कुशल नेत्रृत्वको मुक्त कण्ठले प्रशंसा गरी स्मरण गर्नु भएको छ ।

ग्रन्थको शुभकामनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विद्यावाचस्पति आचार्य पूर्णचन्द्रोपाध्याय ढुंगेल लेख्नुहुन्छ ‘महेन्द्र राजालाई पञ्चायती दर्शन, भूमिसुधार, गाउँ फर्क अभियान आदिमा राजेश्वरकै दुरदर्शी सोचको सहयोगले सफल बनाएको हो । तर, वीरेन्द्रले राजेश्वर जस्ता दार्शनिक राजनीतिज्ञ नचिन्नु नै पञ्चायत ढल्नु र राजसंस्थाकै अवसान हुने संकेत थियो ।

४-समीक्षा खण्ड : यस खण्डमा विभिन्न विधाका ग्रन्थ नायकका २२ वटा पुस्तक र फुटकर तीन गरी २४ वटालाई विजयराज जीले एकमुष्ठ संग्रह गर्नु भएको छ । तिनै उहाँका सिर्जनामध्येका विविध विधाका उपन्यास, कथा आदि काव्यहरूको विभिन्न विषय विशेषज्ञ विद्वानहरूबाट विभिन्न कोणबाट समीक्षा गरिएकाले ग्रन्थको अर्को बौद्धिक एवं साहित्यिक पठनीय पाटो यो समीक्षा खण्ड ।

यस खण्डका विद्वान समीक्षकहरू प्रा.कपिल अज्ञात, केदारनाथ खनाल, केशवप्रसाद चौलागाईं, डा.कृष्णप्रसाद सापकोटा, गणेश चालिसे, डा.टीकाराम आचार्य आरुणि, डी आर पोखरेल, डा.धनेश्वर भट्टराई, प्रा.डा.नारायणप्रसाद खनाल, डा.प्रभा कैनी, पूर्णप्रसाद अधिकारी, डा.बद्री पोख्रेल, डा.भूमिराज बस्ताकोटी, रमेश प्रभात, विनोद न्यौपाने, प्रा. डा. विष्णुप्रसाद देवकोटा, प्रा.डा.विष्णुप्रसाद पौडेल, सुरेन्द्र अस्तफल र हरिराज भट्टराईहरूबाट गरिएको समीक्षा ग्रन्थको पठनीय उत्कृष्ट सिर्जना पनि हो । साहित्यकार देवकोटाको खोजका लागि यो खण्ड एउटा उपहार सावित हुनेछ ।

५- साभार तथा वैचारिक लेख खण्ड-
यस खण्डमा तीन उपखण्ड छन् । जसमा समीक्षा, संस्मरण र विचार रहेका छन् । क-समीक्षा उप खण्डमा प्रा.डा.वासुदेव त्रिपाठीले लेख्नुभएको छ ‘२०४४ को मदन पुरस्कार, प्राप्त’ गोपीकृष्ण शर्माले लेख्नुभएको छ ‘राजेश्वर देवकोटाका कथा,’ मायालाई साँच्चै माया गर्ने देवकोटा’ राम सञ्जेलले, ‘उपन्यासकार राजेश्वर देवकोटा प्रा.डा.विष्णुप्रसाद पौडेल लगायतका विद्वान विषय विशेषज्ञ लेखकहरूको उच्चतम समीक्षा रहेको छ यस उपखण्डमा ।

ख–संस्मरण लेख यस उपखण्डमा रहेको छ-लेखनबाटै बढेको कद’ लेख्नु भएको छ जयदेव भट्टराईले, प्रकाशराज देवकोटा लेख्नुहुन्छ ‘राजेश्वर देवकोटा एक प्रखर शीर्षकमा, त्यसैगरी ‘राजेश्वर देवकोटासँग दुई घण्टा शीर्षक दिएर लेख्नु भएको छ रामप्रसाद पन्तले । ग-वैचारिक लेख उपखण्डमा ग्रन्थ नायक बारेका विभिन्न विचारहरूको अभिव्यक्तिलाई यस उप खण्डमा संग्रह गरिएको छ जसमा ग्रन्थ नायककै पछिल्लो अभिव्यक्ति समेतलाई सम्पादन गरिएको छ । त्यसैले यस उप खण्डलाई वैचारिक संग्रह उपखण्ड भन्न पनि सकिने देखिन्छ । वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठले अन्तिम देन र रोचक घिमिरेले आत्मीय चिन्तन प्रस्तुत गर्नु भएको छ । क्रमश :

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?