महासचिव गुटेरेसद्वारा युक्रेन आक्रमणको निन्दा

Read Time = 4 mins

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै यो ‘हाम्रो सामूहिक विवेकको अपमान’ भएको बताउनुभएको छ । रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुई दिनअघि एघारौं आपत्कालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, ‘जब तपाईंले युक्रेनमा रुसको आक्रमणबारे कुरा गर्नुहुन्छ भने युक्रेनका जनता र अन्तर्राष्ट्रिय समुदायका लागि यो लाजमर्दो विषय हो’, उहाँले थप्नुभयो, ‘यो संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । यसले नाटकीयरूपमा मानवअधिकारको हनन निम्त्याइरहेको छ र यसको प्रभाव युक्रेनभन्दा धेरै परसम्म महसुस भइरहेको छ ।’

रुस-युक्रेन युद्ध गत फेब्रुवरी २४ मा सुरु भएको थियो र हालसम्म जारी छ । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि महासभाले किभले समर्थन गरेको प्रस्तावमाथि बहस गर्न थालेको हो । विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघ प्रमुखले पनि भन्नुभयो, ‘मैले पहिलो दिनदेखि भनेको कुरा के हो भने यस कदमले विश्च समुदायलाई चुनौती थपेको छ ।’

संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध वा संयुक्त राष्ट्रका उद्देश्यहरूसँग असंगत हुनेगरी धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने महासचिवको धारणा छ । उहाँले युक्रेनका चार क्षेत्रलाई गैरकानुनी रूपमा गाभिएकामा आपत्ति जनाउनुभएको छ ।

यसअघि पोल्याण्डमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो युद्धघोष गर्दा ‘ठूलो गल्ती’ गरेको बताउनुभएको थियो । राष्ट्रपति बाइडेन (जो पोल्याण्डको वार्सामा राष्ट्रपति भवनमा बुखारेस्ट नाइनसँगको बैठकमा हुनुहुन्थ्यो पहिलो पटक मुस्कुराएर जवाफ दिँदै रुसको के प्रतिक्रिया हुन्छ त्यो बारे प्रत्युत्तर गर्ने आफ्नो समय नभएको बताउनुभएको थियो ।

बुखारेस्ट नाइन समूह २०१५ मा क्रिमिया को रुसी विलयपछि गठन भएको थियो र यसमा बुल्गेरिया, चेक गणतन्त्र, एस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र एस छन् । युक्रेन युद्ध एक वर्ष पुग्न लाग्दा बाइडेन पोल्याण्डमा नेटो नेताहरूसँग भेट्दै हुनुहुन्छ । मस्कोमा राष्ट्रपति पुटिनले बुधबार चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीसँग भेट गर्नुभएको थियो । यसअघि वाङले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति पुटिनले अमेरिकासँगको एकमात्र बाँकी रहेको परमाणु हतियार नियन्त्रण सन्धि-न्यू स्टार्टमा आफ्नो सहभागिता निलम्बन गरिरहेको र युक्रेन द्वन्द्वका लागि पश्चिमलाई दोष दिन खोजेको बताइएको छ । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?