एनआरएनएका माग पूरा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्दै संघले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भेटका अवसरमा एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले संघले गर्दै आएका लोककल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीको लगानीलगायतका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदै विदेशमा रहेका लाखौं नेपाली नेपालमा लगानीका लागि उत्साहित भए पनि विभिन्न कानुनी र नीतिगत कठिनाइका कारण समस्या परेको भन्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभयो ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न नेपाली नागरिकसरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सरकारसहितको लगानी भएको करिब १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेण्ट फण्ड कम्पनी कार्यान्वयनमा देखापरेका कानुनी बाधा अवरोध हटाउन आग्रह गर्नुभयो । उहाँले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र सोसम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्यूनतम दुई करोडको मापदण्ड हटाउन पनि माग गर्नुभयो ।

‘सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईंहरूका प्रतिनिधि पनि एकै ठाउँमा राखेर छलफल गरौँ र समस्या समाधानका लागि पहल गरौँ, त्यसका लागि म आफैं समन्वय र सहकार्य गर्न तयार छु । नागरिकताको विषय पनि छिट्टै टुंगिनेछ, त्यसमा चिन्ता मान्नुपर्दैन ।’

अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषय छिटो टुंगो लगाउन आग्रह गर्नुभयो । उहाँले डलर खाता सञ्चालनमा देखापरेका प्राविधिक समस्या समाधान गर्न, बहुसंख्यक नेपालीलाई नेपालसँग जोड्न र मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन पुँजीसहित उनीहरूको ज्ञान, सीप र क्षमता भित्र्याउन सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले एनआरएनए प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूका माग वा समस्या जे-जति पनि छन्, ती सबै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ, सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईंहरूका प्रतिनिधि पनि एकै ठाउ“मा राखेर छलफल गरौँ र समस्या समाधानका लागि पहल गरौँ, त्यसका लागि म आफैं समन्वय र सहकार्य गर्न तयार छु । नागरिकताको विषय छिट्टै टुंगिनेछ, त्यसमा चिन्ता मान्नुपर्दैन ।’

गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार आफैं रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ अघि बढिसकेको छ, त्यसलाई सरकारले गरेको ग्यारेन्टीका रूपमा लिन सकिन्छ, जसले विदेशमा रहेका नेपालीलाई पनि लगानीका लागि प्रोत्साहन गर्नेमा सरकार विश्वस्त छ ।’

भेटका अवसरमा संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आरके शर्मा, महिला सचिव राधिका गुरुङ, प्रवक्ता सोम सापकोटा, युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसिसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसिसी टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङ, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको एनआरएनएले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?