धनगढी-अत्तरिया ६ लेन सडक झिलिमिली

फाइल तस्बिर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी । धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकको गेटासम्म झिलिमिली भएको छ । धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । धनगढी–अत्तरिया सडकअन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधबार साँझ सुदूपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नु भएको हो ।

नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम भएको हो । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा साझेदारी गर्न तयार रहेको बताउनु भयो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो ।

धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताउनु भयो । ६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको छे । पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको उहाँले बताउनु भयो ।

स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको कामअन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ । भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ ।

यसैगरी, तेस्रो चरणअन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आहृवान भइसकेको धनगढी उप-महानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताउनु भयो । उपमहानगरपालिकाले धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रभित्रको करीव नौ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको कामसँगै मेडियनलाई हरियाली बनाउने कामसमेत गरिरहेको छ । सडक हरियाली बनाउन उपमहानगरले तीन ओटा संस्थासँग साझेदारी गरेको छ ।

गेटादेखि विमानस्थलसम्म विरुवा रोप्न र फेन्सिङ गर्न सूर्य नेपालले ५० लाख सहयोग गरेको छ भने चौराहादेखि भन्सारसम्म विरुवा रोप्न जावलाखेल ग्रुप अफ कम्पनीले सहयोग गरेको छ । चौराहादेखि मोहनपुरसम्म विरुवा लागउन र फेन्सिङ गर्न नगर विकास कोष र उपमहानगरले साझेदारी गरेको नगरप्रमुख हमालले बताउनु भयो । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?