सुरेश धामी/हिटा
बझाङ । नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकका रूपमा मान्यता दिएको ६ वर्ष पूरा भइसक्यो । तर, बझाङ जिल्लाको दक्षिणी भेगमा रहेको बुंगल नगरपालिका-६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयहरूले सिटामोल लिनकै लागि पनि आउँदा-जाँदा एकदिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।
यस गाउँका मानिसहरूले उपचारका लागि जाने ठाउँ भनेको साबिक पीपलकोट गाविसको तथा अहिलेको वडा नं. ६ को वडा कार्यालय नजिकै खौलाधारमा रहेको स्वास्थ्य चौकीमा हो । यो गाउँबाट त्यहाँ पुग्न स्वस्थ मान्छेले लगातार पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छेलाई बोकेर जाँदा पूरै दिन लाग्छ । ‘गाउँमा मेडिकलसम्म पनि छैन । सामान्य बिरामी भए पनि खौलाधार नै पुग्नुपर्छ,’ स्थानीय जय धामीले भन्नुभयो, ‘हिँड्न सक्ने बिरामी दिनभर हिँडेर साँझ पुग्छन् । हिँड्न नसक्नेलाई बोकेर लैजानुपर्छ ।’ गाउँमा स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामी-झाँक्रीकै भरपर्ने गरेको उहाँले बताउनुभयो ।
यस गाउँमा ३० परिवार धामी र बोहरा जातिको बसोबास रहेको छ । यहाँबाट नजिकको अर्काे गाउँ पुग्न कम्तीमा चार घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । कोही बिरामी भयो र बोकेर लैजानुपर्यो भने गाउँ नै खाली हुने गरेको स्थानीय बेलमती बोहरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘टाढाको बाटो छ । एकजना बिरामी भयो भने पालैपालो बोक्नका लागि २०/२५ जना सँगै जानुपर्छ । एकजना बोक्नुपर्ने बिरामी भयो भने गाउँ नै खाली हुन्छ ।’ गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको धना धामीले बताउनुभयो । ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर दौडाउनुपर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुँदैनन्,’ उहाँले भन्नुभयो, ‘कतिपय बाटैमा बच्चा जन्माउँछन् । कतिपय बाटैमा ज्यान गुमाउँछन् । उहाँका अनुसार नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा–लैजादा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको अर्की स्थानीय जयमती बोहराको भनाइ छ ।
खोपको समस्यालाई लिएर स्थानीयले पहल गर्दा नगरपालिकाले ०७७ सालमा खोप लगाउने स्वास्थ्यकर्मी नियुक्त गरी गाउँमा नै गएर खोप लगाउने व्यवस्था गरिएको थियो । तर, दुर्गम भएकै कारण स्वास्थ्यर्मीले खोप लगाउन गाउँमा जान छाडेको स्थानीय डम्मरा बोहराले बताउनुभयो । ‘खोप लगाउन जान दिनभर लाग्ने भएकाले ‘खोपको महत्व बुझेकाहरू हिँडेरै गएर पनि लगाउने गरेको भए पनि धेरैजसो अशिक्षित र नबुझेकाहरू आजसम्म लगाइएन अब लाएर के नै पो हुन्छ भनेर खोप लगाउन छुटाउने गरेका छन्,’ बोहराले बताउनुभयो । गाउँमै खोप केन्द्र भइदिएको भए कोही पनि बालबालिका खोप लिनबाट वञ्चित हुनुनपर्ने उहाँले भनाइ छ । बड्डी ज्यावनका मात्रै नभएर बुंगल नगरपालिका–७ चिल्ठागाउँ, गल्लकका स्थानीयले पनि यो समस्या झेल्नुपरेको गल्लेकका स्थानीय कर्ण बोहराले बताउनुभयो ।
स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुनेबित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारका लागि लैजाने गरेको प्रताप बोहराले बताउनुभयो । यसो गर्दा कतिपय बिरामीहरू सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानैसमेत गुमाउने गरेको उहाँको भनाइ छ । यो गाउँको जनसंख्या दुई सयको हाराहारीमा छ ।
सरकारी उपेक्षा
यहाँको समस्यालाई लिएर स्थानीयहरू नगरपालिका र जिल्लाका विभिन्न निकायमा धाए पनि उनीहरूको कुराको कतैबाट सुनुवाइ नभएको बड्डी ज्यावनवासीको गुनासो छ । ‘यहाँ मान्छे बस्छन् भन्ने कुरा सरकारलाई थाहै छैन जस्तो लाग्छ,’ स्थानीय कल्यान धामीले भन्नुभयो, ‘सरकारलाई थाहा भए त हाम्रो समस्याको पनि सुनुवाइ हुँदो हो । न स्कुल छ, न स्वास्थ्य चौकी छ, हिँड्नलाई बाटो छैन ।
दुर्गम भएका कारण यस गाउँमा जनप्रतिनिधिहरू पनि नआउने गरेको यहाँका स्थानीय बताउँछन् । जनप्रतिनिधिले भोट माग्दा सबै समस्या समाधान गर्छौं भनेर गफ लगाउने गरेको भए पनि त्यसपछि फर्केर पनि नहेर्ने गरेको उनीहरू बताउँछन् । भोट माग्नका लागि हालका वडाध्यक्ष रामबहादुर देवार र विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ताहरू यस गाउँमा पुगे पनि अरू कोही पनि यहाँ नपुगेको उनीहरूको भनाइ छ ।
यता, बुंगल नगरपालिका प्रमुख जयबहादुर धामी भने आफू ज्यावन पुगेको र त्यहाँको समस्याका बारेमा जानकार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘म चाहिँ दुई/तीन पटक त्यहाँ पुगेको छु । त्यहाँका जनताको समस्या बुझेको छु ।’ उहाँले बड्डी ज्यावन र यो जस्तै टाढा रहेका गाउँहरूको पायक पर्ने गरी पारिबगर भन्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले स्वास्थ्य इकाई स्थापना गर्ने ठाउँ पारिबगर पुग्नका लागि बड्डी ज्यावनबाट चार घण्टा पैदल हिँड्नुपर्छ । स्वास्थ्य इकाई केन्द्र पारिबगरमा पनि औषधि नपाइने गरेका कारण बड्डी ज्यावनका स्थानीयले सामान्य बिरामी हुँदा पनि सिटामोल लिनकै लागि एक दिनभर हिँडेर स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता रही आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच