‘जनयुद्ध दिवस’बारे ओलीको आक्रोश 

‘क्रूर हिंसा दिवस फागुन १, ‘जनयुद्ध’ भनेर बिदा दिनु दुःखद’

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’मा सरकारले बिदा दिएको प्रति असन्तुष्टि जनाउनुभएको छ । बिहीबार बालकोटस्थित आफ्नै निजी निवासबाट एमाले अध्यक्ष ओलीले जनयुद्ध दिवसबारे आक्रोश व्यक्त गर्नुभयो । दिवसमा दिइएको बिदा र राष्ट्रिय दिवसका रूपमा वार्षिक क्यालेण्डरमा राख्ने सरकारको निर्णयप्रति उहाँको आपत्ति थियो । आफ्नै जन्मदिनको अवसरमा निवासमै आयोजित एक कार्यक्रममा उहाँले ‘फागुन १ लाई राष्ट्रिय दिवस होइन हिंसा दिवस’को संज्ञा दिनुभयो । ‘सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर क्यालेण्डरमा राख्नेसमेत दुःखद निर्णय गर्‍यो,’ उहाँले भन्नुभयो, ‘त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ ।’ सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

आगामी वर्षदेखि यसलाई राष्ट्रिय दिवसका रूपमा वार्षिक क्यालेण्डरमै राख्ने निर्णय सरकारले गरेको छ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिँदा आमरूपमा पनि विरोधका स्वरहरू सुनिएका थिए । तर, सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल एमाले १० दिनसम्म मौन थियो । एघारौँ दिनमा अध्यक्ष ओलीको मुख खुल्यो, त्यो पनि चर्को स्वरमा । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि चर्को आलोचना गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आए पनि फेरि हिंसाको महिमामण्डन गरेको टिप्पणी गर्नुभयो । हिंसाको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नहुने ओलीको टिप्पणी थियो । ‘हिंसाको धङधङी सरकारमा पनि देखिन्छ । आफैँ शान्ति प्रक्रियामा आइसकेपछि फेरि किन महिमामण्डन गर्नुप¥यो ?’ ओलीको प्रश्न थियो, ‘त्यो मैले पनि बुझेको छैन । सम्झीसम्झी हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्रै लाग्छ ।’

अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताउनुभयो । जनतालाई परस्परमा लड्ने/लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उहाँले चेतावनीसमेत दिनुभयो । ‘नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनता परस्परमा लड्न र लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’

१० दिनपछि फुटेको बोली
अब प्रश्न उठ्छ जनयुद्ध दिवसमा बिदा दिएको १० दिनपछि मात्रै ओलीको बोली किन फुट्यो ? यतिका दिनसम्म उहाँ किन मौन बस्नुभयो ? के आजसम्म ओली यो निर्णयको समर्थन वा विरोध के गर्ने भन्ने दोधारमा हुनुहुन्थ्यो ? पक्कै होइन । जनयुद्ध दिवसबारे ओली पहिलेदेखि नै स्पष्ट हुनुहुन्थ्यो । दुई वर्षअघि तत्कालीन नेकपा हुँदासमेत उहाँले जनयुद्ध दिवसमा सरिक हुन आनाकानी गर्नुभएको स्मरणीय छ । हरेक कुरामा स्पष्ट धारणा राख्ने ओली यतिका दिनसम्म मौन बस्नुको एउटै कारण थियो, सत्ता गठबन्धन । राष्ट्रपति निर्वाचनको सन्निकटमा गठबन्धनमा गडबड नहोस् भन्ने ओलीको मनसाय थियो सायद । अहिले गठबन्धन टुट्ने निश्चित देखेपछि उहाँले ढिलो गरी आक्रोश व्यक्त गर्नुभएको हो । ओलीको आक्रोश स्वाभाविक भए पनि परिस्थितिको मूल्यांकन गरेर आएको छ । भावी दिनको भविष्यवाणी पनि ओलीको आक्रोशभित्रै छ । गत पुस १० गते एकाएक जुटेका ओली-प्रचण्ड अहिले दुई किनार लाग्ने तयारीमा हुनुहुन्छ ।

गठबन्धन बनेको दुई महिनामै दुई नेता दुईतिर लाग्ने गन्तव्य खोजिरहनु भएको छ । प्रचण्डसँग तत्कालका लागि एउटा र उत्तम विकल्प छ, कांग्रेससहितको पुरानै गठबन्धन ब्युँताउने । प्रचण्ड वैकल्पिक बाटो तय गरेर ओलीसँग टाढिन खोजिरहनु भएको छ । ओलीले निर्विकल्प आक्रोश पोख्ने मात्रै हो । यसबाहेक अरू कुनै विकल्प ओलीसँग तत्काल छैन । नेपाली राजनीतिमा यस्ता नाटकीय खेलहरू मञ्चित भइरहन्छन् । अर्को कुनै खेल हुँदा ओलीलाई सहज पनि हुनसक्छ ।

ओली-प्रचण्डबीच कहिल्यै एकनासको सम्बन्ध रहेन । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मात्रै होइन, भूमिगत जनयुद्ध हुँदासमेत दुई नेताको सम्बन्ध उतारचढाव भइरह्यो । दुई नेताबीच कहिल्यै घनिष्ठता र मित्रवत् सम्बन्ध देखिएन । बेला–बेला कटुतापूर्ण र सुमधुर हुने सम्बन्धले न विश्वास जित्न सक्यो न अविश्वास मात्रै कायम रह्यो । एक अर्काका कट्टर आलोचकदेखि सत्ता यात्रामा साथ दिने सहयात्री दुवै बन्नुभयो उहाँहरू । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरणसम्म गर्नुभयोे । तर, सम्बन्ध कायम रहेन । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने भनाइ यी दुई नेताको सम्बन्धले पुष्टि गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?