राष्ट्रपतिमा देउवा उठे समर्थन गर्छु, नत्र मलाई सहयोग गर्न पर्‍यो : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा आफ्नो दावी कायमै राखेको छ ।
शुक्रबार बालुवाटारमा बसेको पुरानो गठबन्धनमा रहेका चार दलको बैठकमा उसले हिजो भएको तीन दलको निष्कर्षमा अडान राखेको हो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिमा उठे आफूले समर्थन गर्ने नत्र नभए आफैँ उठ्ने बताउनु भएको छ ।

'उहाँ (देउवाजी) नै उठ्ने हो भने मेरो समर्थन हुन्छ । त्यसो नहुँदा राष्ट्रपतिमा म उठ्छु, सहयोग गर्न पर्‍यो," बैठकमा नेपालले भनेको भनाइ उदृत गर्दै एक नेताले बताए । अध्यक्ष नेपालले यस्तो अडान राखेपछि कांग्रेसका नेताहरुले भने अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको उनले बताए ।

स्रोतका अनुसार नेपालले राष्ट्रपतिमा आफ्नो दाबी रहने बताएपछि बैठक साँझ पाँच बजे बस्ने गरी सकिएको हो । यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए ।

कांग्रेसले भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्नेगरी  बैठकमा प्रस्तुत भएकाे थियो ।

राष्ट्रपतिमा पौडेलसँगै नेपालको नाम पनि आएकाले आ–आफ्ना पार्टीभित्र थप छलफल गर्न आवश्यक रहेको भन्दै चार दलको बैठक साँझ पाँच बजे फेरि बस्ने गरी सकिएको हो ।

बैठकमा सहभागी नेकपा एसका नेता प्रकाश ज्वालाले भन्नुभयो, ‘प्रचण्डजीले माधवजीलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभयो । तर, कांग्रेसले पनि अडान छाडेको छैन । त्यही भएर आन्तरिक छलफल गरेपछि फेरि बस्नेगरी अहिले उठेका हौँ।’

बैठकमा सहभागी अर्का नेता कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल सकारात्मक रहेको र फेरि साँझ बैठक बसेर एउटा निर्णय मा पुग्ने बैठकमा सहमति भएको बताउनु भयो ।

'राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा सकारात्मक छलफल भयो । आ-आफ्ना पार्टीभित्र थप छलफल गर्नुपर्ने भएकाले फेरि साँझ पाँच बजे बस्ने गरी उठेका छौँ,' उहाँले भन्नुभयो । उहाँका अनुसार साँझ बालुवाटारमा बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवारको नाम टुंगो लगाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?