जग्गा अभावले ट्रमा सेन्टरको टेण्डर भएन

Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जग्गा व्यस्थापन गर्न नसक्दा ट्रमा सेन्टरको टेण्डर हुन सकेको छैन । ट्रमा सेन्टरका लागि कम्तीमा १५ कठ्ठा जग्गा हुनुपर्नेछ ।

बर्दघाट नगर पालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पश्चिम नवलपरासीमा परेको ट्रमा सेन्टर बर्दघाट नगरपलिकाभित्रै बनाउने बताउनुभयो । उहाँले नगरपालिकाले जग्गा प्राप्तिको पहल गरिरहेको भन्दै हाल राष्ट्रिय आवास कम्पनीको नामको बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको जग्गा प्राप्ति हुन सक्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीले ट्रमा सेन्टर बनाउन जग्गा हाम्रो नगरपालिकाको नाउँमा हुनुपर्ने मापदण्ड छ, अहिले हामीले ट्रमा सेन्टर बनाउन खोजेको जग्गा आवास कम्पनीको नाममा रहेको छ । उक्त जग्गा नगरपालिकाको नाममा ल्याउन अनेकौं प्रयास गरिरहेका छौँ ।’ नगरपालिकाले जग्गा प्राप्तिमा ढिलाइ भएकाले जग्गा प्राप्तिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको उहाँको भनाइ छ ।

बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले जग्गा प्राप्तिका लागि दिव्यज्योति बहुमुखी क्याम्पसलाई पत्राचार गरिएको बताउनुभयो । क्याम्पसका नाममा रहेको जग्गामध्ये करिब एक बिघा लिज वा पछि सट्टा भर्ना गर्ने गरी उपलब्ध गराउन पत्राचार गरिएको उहाँको भनाइ छ । दिव्यज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बृहस्पति अधिकारीले नगरपालिकाले जग्गा माग गर्दै पठाएको पत्रका विषयमा नगरपालिका र क्याम्पसबीच छलफल गर्ने निर्णय भएको बताउनुभयो । तीन वर्षअघि नै ट्रमा सेन्टर निर्माणको निर्णय भए पनि हालसम्म पनि टेण्डर हुन नसकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?