भारत जाने कामदारका लागि नगरपालिकाकाे बीमा  कार्यक्रम

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

 बैतडी । बैतडीको पाटन नगरपालिकाले रोजगारीका लागि भारतमा रहेका कामदारहरुको बिमा गर्न थालेको छ । रोजगारीका लागि भारतमा रहेका आप्रवासी कामदारहरुको दुर्घटना बीमा गर्न लागेको हो । जिल्लाका अन्य पालिकाहरुसंग आफ्नो पालिकाका नागरीकहरु रोजगारीका लागि भारतमा कति छन् भनेर एकिन तथ्याङ्क छैन । तर, पाटनले भने भारतमा रहेका नगरपालिका भित्रका सबै नागरिकको ५ लाख बराबरको दुर्घटना बीमा गर्न लागेको हो ।

बिहीबारबाट नगरपालिकाले कामको सिलसिलामा भारत जाने ब्यक्तिहरुको वडास्तरमै टोली खटाएर निशुल्क दुर्घटना बिमा गर्न थालेको हो । बिहीबार वडा नम्बर ६ का करिव २३२ जनाले दुर्घटा बिमा गराएका वडा अध्यक्ष राजेन्द्र सिह बिष्टले जानकारी दिनुभयो । शुक्रबार वडा नम्बर १० का करिव सय भन्दा बढीले सो बिमा गराएका छन् भने वडा नम्बर ८ मा शनिवार १ सय २० जना बिमा गरेको जनाईएको छ ।

यहाँका अधिकांश नागरिक रोजगारीका भारत जाने गर्दछन् । आवधिक रोजगारीको क्रममा भारतमा रहेकाहरुको सुरक्षाको लागि नगरपालिकाले बीमा कार्यक्रमको अवधारणा ल्याएको नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिनुभयो । रोजगारीको खोजीमा भारत जाने कामदारहरुको बार्षिक दुर्घटना बीमा अभियानको थालनि गरिएको नगरप्रमुख रावलले बताउनुभयो ।

नगरपालिकाले कार्यपालिकाबाट कार्यविधी नै पारित गरेर भारतमा रहेका कामदारहरुको बीमा गर्न लागेको हो । ‘भारतमा रोजगारीका लागि गएका कामदारहरुको ५ लाख सम्मको दुुर्घटना बीमा गर्ने अभियानको सुरुवात गरेका छौँ, कुनै दुर्घटनामा परेका अवस्थामा सोही बीमाबाट निशुल्क उपचार हुन्छ,’ नगर प्रमुख रावलले भन्नुभयो ।

स्थानीय स्तरमा रोजगारीका अवसर नभएपछि सोको खोजीमा यहाँ स्थानीयहरु भारत पुग्ने गरेका छन् । रोजगारीका क्रममा अंगभंग भएका परिवारलाई आर्थिक सहुलियत प्रदान गर्नुका साथै आयआर्जनका कार्यक्रममा समेट्ने कार्यविधिमा उल्लेख गरिएको छ । कामको शिलशिलामा दुर्घटनामा परि अंगभंग हुने गरेका छन् । दुर्घटनामा परेकाहरुको निशुल्क उपचारको व्यवस्था गरिनुका र बीमाको नियमाअनुसार सेवा सुबिधा प्रदान गरिने नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले बताउनुभयो । प्रत्येक वडा कार्यालयबाटै बिमा भर्न सक्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रोजगारीको लागि भारत गएकाहरुको अविभावकत्व ग्रहण गर्न लागिएको नगरपालिकाले जनाएको छ । रोजगारीको लागि भारत जाने कामदारहरुले सूर्याज्योती लाईफ इन्स्योरेन्स कम्पनीमा बिमा गर्ने छन् ।

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीको साजेदारीमा यो कार्यक्रम अघि बढाइन लागिएको नगरपालिकाले जनाएको छ । रोजगारीका लागि भारतमा रहेकाहरुको परिवारले समेत बिमा भर्न सक्ने छन् । बीमाकै लागि पहिलो किस्ता भर्न चालु आर्थिक वर्षमा नगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ भने साजेदारी निकाय रुडेसले १ लाख ९३ हजार रुपैया आर्थिक सहयोग गरेको छ । पाटन नगरपालिकामा १५ सय भन्दा बढी नागरीक आवधिक रोजगारीको लागि भारतमा रहेको नागरपलिकाले जनाएको छ ।

भारतमा रहेका कामदारहरुको दुर्घटना बिमा गर्न तथा गराउन वडा कार्यालयमा पुगेका पाटन ८ का स्थानीयहरु ।

तस्वीर : डम्बर बोहरा हिमालय टाईम्स

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?