आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्थेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो । प्रतियोगितामा लाफा समूहका न्यौपाने र भौदारको टिम उपविजेता बन्दै ७१ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ ।

खुलातर्फ पोखराका विशाल बस्नेत र प्रविन सिंह एवं काठमाडौंका दीपक राना र राम मल्ल ठकुरीको जोडीले तृतीय स्थान हासिल गरेको छ । उक्त तृतीय स्थान हासिल गर्ने टोली ५१ हजार नगदरसहित पुरस्कृत भएको आयोजक प्रहरी पब्लिक ब्याडन्टिन क्लबका कोषाध्यक्ष राजेन्द्र बमले जानकारी दिनुभयो ।

त्यसैगरी ४५ वर्ष उमेर समूहमाथिको भेट्रान ब्याडमिन्टन प्रतियोगितामा नेपालगञ्जका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडीले उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा बर्दघाटका बेल छन्त्याल र कर्ण विकको टिमलाई पराजित गर्दै श्रेष्ठको जोडी उपाधि विजेता बनेको हो ।

उक्त संस्करणको विजेता श्रेष्ठको टिमले ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र र उपविजेता छन्त्यालको टिमले ३१ हजार नगद प्राप्त गरेको छ भने भेट्रानतर्फ धनगढीका शैलेन्द्र श्रेष्ठ/वीरेन्द्र विष्ट र केशव भट्ट र भोजराज भट्टले तृतीय स्थान हासिल गर्दै २१ हजार नगदसहित पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी’ लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका गणेश मिश्रा र सिद्धराज ओझाको जोडीले जित्दै ३१ हजार नगदसहित पुरस्कृत भएको छ । सो प्रतियोगितामा ‘बी लेबल’ तर्फ कपिल बम र कमाण्डौ कठरियाको जोडी उपविजेता बन्नुका साथै केशव भट्ट/भोजराज भट्ट र नरेन्द्र चन्द र गणेश कठायतले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

उपविजेता टिमले २१ हजार र तृतीय स्थान हासिल गर्ने टिमले ११ हजार नगद, ट्रफीसहित पुरस्कृत भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल एक सय टिमको सहभागिता रहेको प्रहरी पब्लिक ब्याडन्टिन क्लबका कोषाध्यक्ष बमले जानकारी दिनुभयो ।

धनगढीका प्रतिष्ठित व्यवसायी एवं ब्याडमिन्टनका अग्रज खेलाडी चेतराज जोशीले आफ्ना स्व. बुबा धर्म र आमा पशुपतिको स्मृतिमा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?