भोलिदेखि हुने तिलोत्तमा गोल्डकपको उद्घाटन खेल रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको तिलोत्तमा गोल्डकप प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुदैँछ ।

२२औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।
२०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत विभिन्न कारणले २२ औं संस्करण हुन सकेको थिएन । त्यसको ४ बर्षपछि २२ औं संस्करणको गोल्डकप हुन लागेको संघले जनाएको छ ।

दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिनुभयो। बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गर्ने संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही–११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?