नागरिकताबारे एनआरएनएद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी एनआरएनएलाई नेपाली नागरिकताबारे ध्यानाकर्षण गराएको छ । राष्ट्रपति निवासमा शुक्रबार भएको भेटमा कार्यकारी अध्यक्ष थापाले लामो समयदेखि एनआरएनएले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजका आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको हो ।

सो अवसरमा एनआरएनएका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधानसमेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकार सम्बन्धमा स्पष्ट कानुनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै उक्त विषय सम्बोधनका लागि पनि आग्रह गर्नुभयो । नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानुनी व्यवधान रहेको भन्दै अध्यक्ष आचार्यले पुँजी पलायन रोक्न र लगानी भिœयाउने वातावरण निर्माणमा जोड दिनुभयो ।

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताउनुभयो । गैरआवासीय नेपालीले समृद्ध मुलुक निर्माणका लागि आफ्नोतर्फबाट अभियान थालिसकेको भन्दै उहाँले अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गर्नुभयो । राष्ट्रपति पौडेलले आफू एनआरएनएका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै एनआरएनएले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकाले केही समयभित्रै सम्बोधन हुने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न एनआरएनएलाई आहृवान गर्दै आफ्नोतर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

सो अवसरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्दप्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोकप्रसाद दाहाल, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, युवा संयोजक अब्दुल वसिद, संस्थापक सचिव चिरञ्जीवी ढकाल, एनसिसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनसिसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसिसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कुवँर, एनआरएनएन युएसएका पदम विश्वकर्मा, एनआरएनएका फोकल पर्सन सरोज दाहाल, संघका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सिएनआई टोलीले पनि भेट्यो
नवनियुक्त राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघ(सिएनआई)ले पनि भेटेर बधाई दिएको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार निजी क्षेत्रतर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रका विषयमा निजी क्षेत्रतर्फबाट सुझावसमेत दिनुभयो ।

उहाँले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताउनुभयो । उहाँले सिएनआईले अघि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनमी’ अवधारणा पनि राष्ट्रपतिसमक्ष पेश गर्नुभयो ।

राष्ट्रपति पौडेलले सिएनआईका सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताउनुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?