स्ववियु निर्वाचन : पाल्पाका दुुई क्याम्पसमा नेविसंघको नेतृत्व

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन् प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो ।

२०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा भए पनि २०६५ यता अधिकांश क्याम्पसमा नियमित चुनाव हुन सकेको थिएन् । आइतबार भएको चुनावमा पनि विवादका कारण केही ठाउँहरुमा हुन सकेन भने केही ठाउँहरुमा निर्विरोध त केहीमा चुनाव भएको छ ।

पाल्पाका चारमध्ये तीन क्याम्पसमा निर्विरोध भएको छ भने एकमा निर्वाचन भएको छ । रामपुरको सहिद बहुमुखी क्याम्पस निर्वाचन भएको हो । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा भने भागबण्डामा स्ववियुु गठन भएको छ । दुुवै क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियुु गठन भएको हो ।

त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो । आइतबार राति मात्र सर्वपक्षीय रुपमा स्ववियु गठन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भागबण्डा अनुसार उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी,सहसचिवमा नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएका छन् ।
सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भएका छन् । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्जवल भट्टराई र तुषार कालिकोटा चयन भएका छन् । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भएका छन् । यहाँ मनोनयनका दिन फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले सहमतिमा पछि ताला खुलेको छ ।

यस्तै सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । नेविसंघका ल्याकत अलीको नेतृत्वमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको हो । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी हुनुुभएको छ । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अखिलका ढकालले २ सय ९२ मत पाउनुुभयो । सचिवमा नेविसंघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गर्दा अखिलकी रमा श्रेष्ठले २ सय ६५ मत पाउनुुभएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु विजयी हुनुभएको छ । उहाँले ३ सय ३१ मत ल्याउनुुभयो भने प्रतिस्पर्धी अखिलकी दुर्गा विकले २ सय ७७ मत प्राप्त गर्नुभयो । प्रत्यक्षतर्फ सबै पदमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले बताउनुुभयो । सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनालर महेश राक्से निर्वाचित भएका छन् । समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएका थिए । समानुपातिकतर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी) ले ५१ मत प्राप्त गरेका छन् । उपसभापति, सह–सचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।

यस्तै यहाँका पूर्वखोलाको उद्बुद्ध कलेज र दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा निर्विरोध भएको छ । उद्बुद्धमा एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । यहाँ सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भएका छन् । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेको निर्वाचन समितिले जनाएको छ । दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारीको नेतृत्वमा समिति निर्विरोध भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा चयन भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?